पाेखरा । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएकी थिइन् ।
गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले दुई मन्त्रालय पाउने भएको हो । म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए।
गठबन्धन फेरिएपछि दुई महिना नबित्दै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको थियो । कांग्रेस नेतृत्वको नयाँ सरकारमा पुनः जुग्जालीलाई नै मन्त्री बनाउने निर्णय माओवादी केन्द्रले गरेको हो । माओवादी केन्द्रले जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पठाउने भएको हो ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य कुसुम बुढाले आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको बताइन् । “माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्ग्याइसकेको छ, कांग्रेसभित्र आकाङ्क्षी धेरै भएकाले मिलाउन समय लागेको देखिन्छ”, उनले भनिन्, “गठबन्धन दलहरूबीच मन्त्रालयको बाँडफाँट मिलिसकेको छ, खाली मन्त्री छान्न ढिलाइ भएको हो ।”