सांसद र जनताबीचको दूरी घटाउन न्याैपानेद्वारा ६८ वटा जनसंवाद, १२ सय ५० गुनासा सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद र जनताबीचको दूरी घटाउन न्याैपानेद्वारा ६८ वटा जनसंवाद, १२ सय ५० गुनासा सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८३, बिहीबार

    तनहुँ १ असाेज । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले सांसद र जनताबीचको दूरी घटाउने उद्देश्यले आफूले निर्वाचन क्षेत्रका नागरिकसँग नियमित जनसंवाद गर्दै आएको बताएका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले प्रत्येक तीन महिनामा जनसंवाद गर्ने घोषणा गरेअनुसार हालसम्म ६८ वटा जनसंवाद कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । ती संवादबाट नागरिकका एक हजार दुई सय ५० वटा गुनासा तथा समस्या सङ्कलन गरिएको र तीमध्ये केही समस्या समाधानसमेत भइसकेको उनले बताए ।

    नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने र सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले जनसंवादलाई निरन्तरता दिइएको उनकाे भनाइ थियो । जनतासँग प्रत्यक्ष संवाद गर्दा स्थानीयस्तरमा रहेका विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित समस्या पहिचान गर्न सहज भएको उनले बताए ।

    सांसद न्यौपानेले तनहुँ क्षेत्र नम्बर २ मा रहेका साझा विकासका सवालमा सरकारको ठोस पहल आवश्यक रहेकोतर्फ संसदको ध्यानाकर्षण गराए । उनले शृङ्गपथ, कृष्णमार्ग, दुलेगौंडा–हर्कपुर सडक लगायतका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य हुने गरी स्तरोन्नति तथा कालोपत्रे गर्नुपर्ने माग गरे ।

    तनहुँका विभिन्न क्षेत्रमा देखिएको बाँदर आतङ्क पनि नागरिकको साझा समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानका लागि सरकारको ध्यान जानुपर्ने उनले बताए ।

    नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या समाधानका लागि स्थानीय तहको प्रयास मात्र पर्याप्त नहुने भन्दै सांसद न्यौपानेले संघीय सरकारबाट आवश्यक बजेट, नीति तथा कार्यक्रमसहित ठोस पहल हुनुपर्ने धारणा राखे ।