काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको वयान मंगलवार पनि लिइँँदैछ । सरकारी वकिल कार्यालय काठमाडौंले खाँणको वयान लिँदैछ ।
सोमबारदेखि विषय केन्द्रित भएर प्रारम्भ भएको वयान अझै बाँकी रहेकाले मंगलवार पनि लिन लागिएको हो ।
खाँणले आफ्नो मोबाइल फरम्याट गरेको तथा उक्त मोबाइलको डाटा रिकभर हुनका लागि समय लागेपछि सोमबारदेखि मात्रै उनको वयान थालिएको प्रहरीले जनाएको छ ।
उक्त प्रकरणमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुपैयाँ दिएको वयानपछि उनी यो प्रकरणमा तानिएका हुन् ।
यसको साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको वयान दिएपछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।