दमाैली । प्रेस युनियन तनहुँको अध्यक्षमा शेष महम्मद हनिफ (गोरा) मियाँ सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न आठौ अधिवेशनबाट मियाँको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा खुल्लातर्फ प्रकाश अधिकारी, समावेशीमा पूर्ण विके, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा एलोज श्रेष्ठ, सहसचिवमा शिला वाग्ले र सदस्यहरुमा दानबहादुर श्रेष्ठ, सञ्जय श्रेष्ठ, मुना कालिराज विक, सुनिता थापा, सुशीला थापा, विनिता थापा र मिलन तामाङ चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताए। मन्त्री आलेले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्रको संरक्षण र संविधान रक्षाका लागि खेलेको भूमिका सदैव स्मरणीय रहँदै आएको उल्लेख गरे ।
जोखिमका बीचमा पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेको बताउँदै मन्त्री आलेले पछिल्लो समय अनलाइन पत्रकारितामा विकृति बढेको गुनासो गरे ।
पत्रकारितामा पनि विकृति बढ्दै गएकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यक रहेको भन्दै उनले भने “पत्रकारितामा पैसाको बार्गेनिङको प्रवृत्ति बढ्दै छ । पत्रकारिता चौथो अङ्ग भएकाले पत्रकारिता क्षेत्रलाई सुधार्नुपर्ने आवश्यकता छ ।” प्रेस युनियन लोकतन्त्रमा विश्वास राख्ने संस्था भएकाले प्रेस युनियनमा आबद्ध पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले पत्रकारितामा चुनौति रहेकाले वर्तमान सरकारले पत्रकारिता क्षेत्रको समस्या सम्बोधन गर्नेमा विश्वास व्यक्त गरे। प्रेस युनियनका महासचिव दिलीप पौडेलले लोकतान्त्रिक आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिकाको चर्चा गर्दै सञ्चारमाध्यमलाई टिकाइराख्न सक्नुपर्नेमा जोड दिए।