दमाैली । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ । रु ५८ लाख २३ हजारको लागतमा निर्माण हुन लागेको चार कोठे भवनको आज नगरप्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गरेका छन् ।
नगरप्रमुख न्यौपानेले पाटन क्षेत्रको एकमात्र शैक्षिक धरोहरको रूपमा रहेको यस विद्यालयको भवन समयमा नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै भवन निर्माण सम्पन्न भएपछि पठनपाठनमा सहज हुने बताए ।
वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले भौतिक प्रगतिसँगै विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिए ।
विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले विद्यालयलाई भवनको आवश्यकता भइरहेका सन्दर्भमा निर्माण सुरु भएको भवनले अध्यापन कार्यमा सहयोग पुग्ने बताए ।