मातृभाषा सिक्दै दुरा जाति (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मातृभाषा सिक्दै दुरा जाति (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८०, मंगलवार

    दमाैली । “हाम्रो बाउबाजेले पनि दुरा भाषा जानेनन्, हामीले त झन् जान्ने कुरै भएन,” तनहुँको व्यास नगरपालिका–४ दमौली निवासी चन्द्रकला दुराले भनिन्, “दुरा जातिको पनि भाषा छ भन्ने थाहा थियो तर भाषा बोल्न आउँदैनथ्यो ।”

    अरु जातजातिले मातृभाषा बोल्दा आफूलाई पनि मातृभाषा बोल्ने इच्छा भएको बताउँदै दुराले भाषा नआउँदा कहिलेकाँही खिन्न लाग्ने गरेको अनुभव सुनाइन् । “कतै जाँदा अरु जातिका दिदीबहिनीहरुले मातृभाषामा बोल्नुहुन्थ्यो, हामी दुरा जाति पनि दुरा भाषामा बोल्न पाए कस्तो हुन्थ्यो होला भन्ने सोचिरहन्थे,” उनले भनिन् “पहिलादेखि नै मातृभाषा सिक्ने इच्छा थियो ।”

    गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना र दुरा महिला समूह व्यास नगरपालिकाको संयोजनमा दुरा मातृभाषा प्रशिक्षण सञ्चालन भएपछि चन्द्रकला दुराले केही सिक्ने अवसर पाएकी छन् । व्यास नगरपालिका–१ र ४ का २३ महिला र दुई पुरुष गरी २५ जनाको सहभागितामा उक्त प्रशिक्षण सञ्चालन भइरहेको छ ।

    दुरा मातृ भाषा कक्षा सञ्चालन पछि अहिले लेख्न र बुझ्न मात्र होइन बोल्न पनि आउने भएको चन्द्रकलाले बताइन्। यति थोरै समयमा धेरै कुरा नजानेपनि आधारभूत ज्ञान भने पाएको दुराले बताइन् । उनले भनिन् “पहिला त कत्ति पनि आउँथेन, अहिले धेरथोर आउँछ । आफ्नै भाषा सिक्न पाउँदा खुसी लागेको छ ।”

    अझै धेरै कुरा सिक्ने चाहना भएको भन्दै उनले आफूले जानेको कुरा अब घरपरिवारमा बोलेर सिकाउने बताइन् । “बालबच्चालाई पनि यो भाषा सिकाउने इच्छा थियो, तर उनीहरुको अध्ययनका कारण विद्यालय जानपर्दा प्रशिक्षणमा ल्याउन सकेनौ, मैले सिकेको कुरा अब घरमा बोल्छु र उनीहरुलाई सिकाउँछु,” दुराले भनिन्। प्रशिक्षणपछि केही कुरा सिकेको भन्दै उहाँले मातृभाषामै यसरी आफ्नो परिचय दिइन्, “ङे चन्द्रकला दुरा ले । उइजो (हजुरलाई नमस्ते) ।” दुरा भाषामै बाबुआमा, छोराछोरी, सात बार भन्न सिकेको उनले बताइन् ।

    व्यास नगरपालिका–४ निवासी विष्णुमाया दुरा पनि मातृभाषा सिकिरहेकी छन् । आफ्नो भाषा लोप हुँदै जान थालेकाले भाषाको संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यसहित मातृभाषा सिक्ने इच्छा जागेको उनले बताइन् । “हामी पनि विभिन्न जातजातिमध्ये एक जाति हौ, हाम्रो पनि भाषा छ तर लोप हुँदै गइरहेको छ । कसैलाई पनि बोल्न आउँदैन, त्यही भएर हामी अहिले मातृभाषा सिकिरहेका छौ,” उनले भनिन् ।

    भाषा किन लोप भयो भन्दा अनुसन्धान गर्दा भाषा रहेछ भन्ने ज्ञान भएपछि आफूहरुकै पहलमा मातृभाषा प्रशिक्षण सञ्चालन गरिएको उनले बताइन् । दुरा महिला समूहका अध्यक्ष रहेकीउनले भनिन्, “दुरा जातिको जनसङ्ख्या कम छ, धेरैलाई यो भाषा नआउँदा भाषा नै लोप हुने खतरा भयो । भाषाको संरक्षण गर्दै आउने पुस्तालाई भाषाबारे ज्ञान दिने उद्धेश्य राखेका छौ ।”

    मातृभाषा सिकेर बोलीचाली गर्न थालेपछि अझै अभ्यस्त हुने उहाँको भनाइ छ । “सिकेर मात्र हुँदैन यसलाई बोलीमै ल्याउनुपर्छ, सधैं बोल्दै गएपछि जानिहालिन्छ,” उहाँले भन्नुभयो, “मैले सिक्दैछु, अब घरपरिवारमा पनि सिकाउँछु ।”

    व्यास नगरपालिका–४ निवासी जुना दुरा मातृभाषा सिक्न पाउँदा गर्व लागेको बताउँछिन् । उनले भनिन् “दुरा जातिको आफ्नै भाषा छ तर लोप हुँदै गइरहेको छ । दुरा भाषाको संरक्षण गर्नुपर्छ भन्ने भावना सहित भाषा सिकिरहेका छौ ।”

    व्यास नगरपालिका–१ निवासी दुर्गा दुरा मातृभाषा सिक्न पाउँदा हर्षित छिन्। “अन्य जनजातिका मान्छेहरु मातृभाषामा बोल्दा मलाई पनि मातृभाषा कस्तो हुन्छ भन्ने लागिरहन्थ्यो, अहिले मातृभाषा सिकेर बोल्न सक्ने भएको छु,” उनले भनिन् ।

    दुरा भाषा पढाउँदै मुक्तिनाथ घिमिरे

    लमजुङको जिता निवासी मुक्तिनाथ घिमिरेले दुरा महिलाहरुलाई मातृभाषा सिकाइरहेका छन् । भाषाका अनुसन्धानकर्ता घिमिरेले दुरा जातिले आफ्नो भाषा बिर्सिदै गएपछि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा मातृभाषा कक्षा सञ्चालन गरिएको जानकारी दिए। घिमिरेले भने, “त्यसैपनि दुरा जाति अल्पसङ्ख्यक हुन्, त्यसमाथि मातृभाषा नहुँदा असजिलो परिस्थिति बनेको छ ।”

    दुराडाँडास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदा सोही सेरोफेरोमा घुमेर दुरा भाषाको शब्द सङ्कलन गरेको उनले बताए । घिमिरेले भने, “दुराडाँडामा दुरा जातिको बाक्लो बस्ती छ । त्यहाँमा बुढापाकाहरुसँग मैले शब्दहरु सङ्कलन गरे । अहिले पछिल्लो पुस्ताले दुरा भाषा बिर्सिदै जान थाले ।” मातृभाषा कक्षा सञ्चालनले सामान्य रुपमा परिवारमा दुरा भाषामा बोल्न सक्ने बनाउने मुख्य लक्ष्य रहेको घिमिरेको भनाइ छ ।

    घिमिरे गुरुङ भाषामा पनि दख्खल छन्। “मैले दुरा जातिको भाषासम्बन्धी अध्ययन गरेर पुस्तक तयार गरेको छु, दुरा भाषाको वर्णमालाको पुस्तक तयार गरेर प्रकाशनमा आइसकेको छ,” घिमिरेले भने। भाषा र संस्कृति एकअर्काका पुरक रहेकाले सबैले मातृभाषा जान्नुपर्ने उनकाे भनाइ छ ।

    मातृभाषा प्रशिक्षणमा दुरा जातिको दश प्रकारका स्वरवर्ण, ३७ वटा व्याञ्जनवर्ण, १ देखि १० सम्मका सङ्ख्याहरु, बारका नाम सिकाइएको छ । त्यस्तै सामान्य बोलीचालीमा प्रयोग गरिने शब्दहरु सिकाइएको छ । उनले भने “दैनिकजसो बोलीचालीमा प्रयोग हुने शब्दहरु सिकाइएको छ ।”

    दुरा जातिको भाषामा मात्रा ह्रस्व हुन्छ । दुरा जातिको भाषामा क, ख, ग जस्तो सङ्लो अक्षर नहुने घिमिरे बताउँछन् । उनका अनुसार दुरा जातिको भाषामा की मात्रा लगाएको हुन्छ की काटिएको हुन्छ ।

    “हरेक जातिको भाषा लोप हुनुहुँदैन, भाषा संरक्षण हुनुपर्छ भन्ने भावनासहित म विभिन्न ठाउँमा पुगेर भाषाको अध्यापन गराइरहेको छु,” घिमिरेले भने, “भाषा अमूर्त सम्पत्ति हो, भाषा कमाउन सकिदैन । यसको संरक्षण हुनुपर्छ ।”

    तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरी आएका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । विसं २०६८ को जनगणना अनुसार दुराहरुको सङ्ख्या पाँच हजार तीन सय ९४ रहेको छ । त्यसमध्ये लमजुङमा ७२, तनहुँमा १६, चितवनमा छ, कास्कीमा तीन र अन्य जिल्लामा तीन प्रतिशत जनसङ्ख्या बसोबास गरेको पाइन्छ ।