


दमाैली । तनहुँको भानु नगरपालिकाले अनुगमन तथा भ्रमणका नाममा ठूलो रकम खर्च गरेको भेटिएको छ । नगरपालिकाले अनुगमन तथा भ्रमणको यथार्थ विवरण उल्लेख नगरी आर्थिक वर्ष ०७८÷७९ मा रु ४१ लाख ९७ हजार खर्च गरेको हो ।
भ्रमणको उद्धेश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख दूरीको विवरण, सवारी साधनको टिकट नराखी नगरपालिकाले उक्त रकम भुक्तानी गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले अनुगमन तथा भ्रमणको औचित्यतामाथि प्रश्न उठाएको छ ।
भ्रमण खर्च नियमावली २०६४ को नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि सोको अभिलेख अनूसूची ६ को ढाँचामा राख्नुपर्ने तथा भ्रमणलाई विश्वसनीय बनाउन आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नुपर्ने उल्लेख छ । नियम १९ मा जिल्लाभित्रको ठाउँको दूरीको विवरण राख्नुपर्छ ।
यस्तै नगरपालिकाले सोही आर्थिक वर्षमा मापदण्ड विपरित भत्ता भुक्तानी गरेको छ । नगरपालिकाले प्राविधिक शाखामा कार्यरत दश जना कर्मचारीलाई फिल्ड भत्ता बापत रु सात लाख ५२ हजार भुक्तानी गरेको छ । मापदण्ड विपरित भत्ता भुक्तानी गर्ने कार्यलाई नियन्त्रण गर्न मलेपको सुझाव छ ।
सरकारबाट जारी भएको सार्वजनिक खर्च मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ को दफा ६ मा सार्वजनिक कार्यरत कर्मचारीलाई साविकमा प्रदान गरिँदै आएको पोशाक खर्च, महङ्गी भत्ता र स्थानीय भत्ता बाहेकका अन्य कुनै पनि प्रकारका विशेष भत्ता प्रदान गर्न नमिल्ने व्यवस्था गरेको छ ।