दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८०, बिहीबार

    दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ । साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो ।

    आगामी जेठ २६ र २७ गते साहित्य सम्मेलन तथा कविता प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उक्त कार्यक्रममा प्रथम हुनेलाई रु ५५ हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने छ जनालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

    “साहित्य सम्मेलनमा सहभागी हुन आउनेलाई व्यासभूमिको भ्रमण पनि गराउँछौँ, यसले गर्दा व्यासभूमिको प्रचार–प्रसारमा सहयोग पुग्छ”, अधिकारीले भने । व्यासको जन्म दमौलीमा भएको विभिन्न तथ्यले प्रमाणित गरे पनि प्रचार–प्रसार नहुँदा व्यासभूमि ओझेलमा पर्दै आएको अधिकारीले बताए ।

    साहित्य सम्मेलनलाई सफल बनाउन प्रतिष्ठानले प्रचार–प्रसारको कामलाई अन्तिम चरणमा पुर्याएको छ । प्रतिष्ठानकी उपाध्यक्ष गौकुमारी न्यौपानेले भनिन्, “साहित्य सम्मेलनलाई सभ्य र भव्यरूपमा सम्पन्न गराउन विभिन्न स्थानीय तहसँग आर्थिक सहयोग माग गरेका छौँ । स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएको छ ।”

    साहित्य सम्मेलनकै अवसरमा वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई गण्डकी वाङ्मय पुरस्कार-२०७९ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    कार्यक्रममा प्रतिष्ठानकी सचिव अन्जु दाहाल, नारायणी अधिकारी लगायतले सम्मेलनलाई सबै पक्षबाट सहयोग रहने विश्वास व्यक्त गरिन् ।

    प्रतिष्ठानले हरेक महिना काव्य वाचन कार्यक्रम गर्दै आइरहेको छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर साहित्यकारहरूले रचनावाचन गर्दै आइरहेका छन् ।