दमौली । तनहुँको देवघाट गाउँपालिका-५ का वडाध्यक्ष पूर्णबहादुर कुंवरले नियम विपरित लिएका दोहोरो भत्ता फिर्ता गरेका छन। उनले दोहोरो भत्ता बापत बुझेका रु पॉच हजार शुक्रबार फिर्ता गरेका हुन् ।
कुंवरले बेरुजु सुची अनुसार देखिएको रकम फर्छयौट गरेको बताए । उनले भने, ‘ बेरूजु सम्वन्धमा अचम्मै लागेकाे छ । बेरूजु बारेमा आलेपलाई थाहा हुन्छ भने समन्वयात्मक जानकारी गराउनु हुन अनुरोध छ ।’
देवघाटका जनप्रतिनिधिले दोहोरो भत्ता बुझेकोबारे खबरपुञ्ज डटकमले समाचार प्रकाशित गरेको थियो ।
देवघाट गाउँपालिकाका जनप्रतिनिधिले दोहोरो अनुगमन भत्ता बुझ्ने गरेको देखिएको छ । गाउँपालिकाका जनप्रतिनिधिले मासिक रुपमा अनुगमन भत्ता बुझ्ने र पालिका अन्तर्गतका योजनाको अनुगमन गर्दा समेत थप भत्ता बुझ्ने गरेको खुलेको छ ।
दोहोरो अनुगमन भत्ता बेरुजुको रुपमा रहने भएकाले त्यस्तो कार्य नगर्न सचेत गराउँदै महालेखा परीक्षकको कार्यालयले उक्त रकम असुल गर्न गाउँपालिकालाई निर्देशन दिएको छ । गाउँपालिकाले जनप्रतिनिधिसँग रु एक लाख ३४ हजार असुल गर्न निर्देशन दिइएको छ ।
गाउँसभा नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ को अनुसूचीमा पदाधिकारीलाई मासिक रुपमा अनुगमन बापत भत्ता उपलब्ध गराउने व्यवस्था रहेको छ । त्यसबाहेक अनुगमनको नाममा अन्य सुविधा दिएको छैन भने कर्मचारीलाई अनुगमन गरेको भनी भत्ता दिने कानून छैन । पालिकाले पदाधिकारीलाई मासिक रुपमा अनुगमन भत्ता भुक्तानी गरेको छ ।
मासिक रुपमा अनुगमन भत्ता भुक्तानी भइसकेको अवस्थामा समेत पालिकाकाका योजनाको अनुगमन गरेको भनी अनुगमन भत्ता भुक्तानी गरेको देखिएको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले रु तीन हजार, वडाध्यक्ष पूर्णबहादुर कुंवरले रु पाँच हजार, वडाध्यक्ष मित्रलाल गुरुङले रु पाँच हजार, वडाध्यक्ष मणिराज गुरुङले रु दुई हजार, भिमबहादुर गुरुङ, पोलबहादुर गुरुङ, याममाया गुरुङ, पदमबहादुर गुरुङ, यालबहादुर गुरुङ रु एक÷एक हजार दोहोरो भत्ता बुझेका थिए ।