दमाैली । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले शुक्लागण्डकी नगरपालिकाको कामले नगरवासीको शिर निहुराएको बताएको छ ।
नगर कमिटीको सोमबार सम्पन्न बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तीमा नगरपालिकाले गरेका गलत क्रियाकलापले नगरवासीको शिर निहुराएको उल्लेख गरिएको छ ।
नगर कमिटी सचिव रघुनाथ पौडेलद्वारा जारी विज्ञप्तीमा नगरपालिकाले विभिन्न समयमा एकलौटी ढंगवाट निर्णय गर्ने, बैठक समापन पश्चात निर्णय थप्ने, निकासी र उत्खननमा मिलेमतो गरी बिना डेण्डर कामको जिम्मा दिने काम गरेको उल्लेख गरिएको छ ।
त्यस्तै अनियन्त्रित ढंगवाट इन्धन खर्च गर्ने, खाजा खानामा मनपरी खर्च गर्ने, टेण्डर प्रकृयाबाट काम सुरू भैसकेको पृथ्वी राजमार्ग नगर क्षेत्रका सफाइको नाममा ज्यादती गर्ने जस्ता अनेकौ कुरामा मनपरी गरेको उल्लेख छ । नगरपालिकामा एमालेका बहुमत सदस्यको आवाजलाई बेवास्ता र अवमूल्यन गर्ने जस्ता गतिविधि तुरून्त बन्द गर्न र गलत प्रवृत्तिलाई सच्याउन दबाब दिने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले शुक्लागण्डकी नगरपालिकामा भएका चरम बेतिथी र भ्रष्टाचारजन्य अनियमितता गर्नेलाई कारवाही गर्न माग गरेको छ । त्यस्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिले असल आचरणयुक्त व्यवहार, साधारण जीवनशैली, जनप्रेमी तथा विकासप्रेमीको भुमिकामा रहि भ्रष्टाचार र अनियमितताका विरुद्धमा आफूलाई उभ्याउन आव्हान गरेको छ ।