तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८०, मंगलवार

    दमौली । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो ।

    आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ । देवघाट गाउँपालिका–५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उनले बताए ।

    देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ । सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका छवटै वडामा जग्गाको नापजाँच काम सकिएको छ । व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ ।

    जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उनले बताए । उनले भने, “प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन । हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ ।”

    जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ । उनले भने, “जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ । सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ ।”

    सदस्य कार्कीका अनुसार असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ ।

    यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ । वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ ।

    भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो । भानु–१ मा पाँच सयभन्दा बढीलाई निस्सा वितरण गरिएको थियो । यो वडाबाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडामा सुरु गरिने नापी कार्यालयका तनहुँका प्राविधिक एवं जग्गा नापजाँच कार्यका टोली प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

    भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दशैँअगावै नापजाँच कार्य सकेर लालपुर्जा वितरण गरिने बताए । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको बताए ।