तनहुँ उद्योग वाणिज्य संघले बैंकहरुलाई बुझायो ध्यानाकर्षण पत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ उद्योग वाणिज्य संघले बैंकहरुलाई बुझायो ध्यानाकर्षण पत्र

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा रहेका बैंकहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मंगलबार दमौलीका विभिन्न बैकहरुलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

    साथै प्रशासन कार्यालय र व्यास नगरपालिकालाई पनि संघले ध्यानाकर्षण पत्र बुझाएको छ ।

    निजी क्षेत्रले यस अघि कहिल्यै भोग्न नपरेको आर्थिक संकटको संवेदनशील क्षणमा एक अर्काको परिपुरकका रूपमा बैङ्क तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रलाई टिकाउनको निमित्त असल सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने आग्रह सहित ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    नीजि क्षेत्रलाई टिकाउन सके मात्र राज्यको अर्थतन्त्र सबल र सक्षम हुने हुँदा अहिलेको चरम आर्थिक संकटको अवस्थामा केहि समय मात्र व्याज, किस्ता बुझाउन नसक्दा सोझै धितो लिलाम गर्ने जस्ता कार्यले निजी क्षेत्र पूर्ण रुपमा हतोत्साही हुदै गएको पत्रमा उल्लेख छ ।

    निजी क्षेत्रलाई संकटको समयमा निरूत्साहित गराउँदै लैजाने हो भने निकट भविष्यमा बैङ्कहरूको अस्तित्व पनि संकटमा पर्ने सम्भावना देखिने भन्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पछिल्लो समयमा बैङ्कबाट प्रदान गरिएको नयाँ तथा पुराना कर्जाहरूमा ब्याजदर समायोजन गरी अब उप्रान्त आधार दरमा २ प्रतिशत मात्र ब्याज थप गरि नयाँ ब्याज दर कायम गर्नका लागि समेत अनुरोध गर्दछौं ।’

    नीजि क्षेत्र माथि आइलागेको आर्थिक संकट र बाध्यताका बीचबाट आफ्नो फाइदा मात्र उठाउने नभई मानवीय हिसाबले नीजि क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारका रूपमा आफूलाई उभ्याउँदै उद्योगी व्यापारीको सर्वस्व सखाप हुने गरी धितो लिलामलाई मात्र विकल्पका रूपमा नहेरी आर्थिक संकटबाट उकासिनका लागि भाका नाघेको अवस्थामा म्याद थप, कर्जा, नवीकरण, आंशिक धितो फुकुवा आदि जस्ता सहयोगी नीति अख्तियार गरी निजी क्षेत्र र बैंक दुवै पक्षको लागि सहज हुने स्थिति सृजना गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई संघको तर्फबाट ध्यानाकर्षण गराइएको छ ।