दमाैली । तनहुँको भानु नगरपालिका–५ मैबलका २१ वर्षीय मनोज विष्ट र व्यास नगरपालिका–१२ लामीडाँडाकी २२ वर्षीया रङ्गिला भुजेल सामाजिक सञ्जालबाट नजिकिए । फेसबुकमार्फत् चिनजान भएपछि उनीहरुबीच प्रेम भयो । उनीहरुले उक्त प्रेमलाई गत वैशाख १ गते विवाहमा परिणत गरे ।
तर विवाहको दुई महिना नबित्दै रङ्गिलाले ज्यान गुमाउनुपरेको छ, त्यो पनि आफ्नै श्रीमान्बाट । दमौलीमा मार्केटिङ व्यवसाय गर्ने मनोजले गत जेठ २६ गते श्रीमतीको हत्या गरेका छन् । व्यास नगरपालिका–४ दमौलीमा डेरा गरी बस्ने मनोजले जेठ २६ गते दिउँसो कोठामै श्रीमतीको हत्या गरी शवलाई बोरामा हालेर सोही वडाको चिहानडाँडास्थित नालाको ह्युमपाइमा फालेका थिए ।
उक्त बाटो हिँडडुल गर्ने सर्वसाधारणले गन्ध आएको जानकारी गराएपश्चात् प्रहरी पुगेर हेर्दा बोराभित्र शव भेटिएको थियो । प्रहरीले मृतकका बुबा मनबहादुर भुजेलमार्फत् मृतकको सनाखत गरेको छ । उक्त घटनामा प्रहरीले मृतकका श्रीमान्लाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले श्रीमान् श्रीमतीको मनमुटावका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। मृतक रङ्गिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक विष्टले बताए।
प्रहरी उपरिक्षक विष्टले भने, “जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।”
निजहरुबीच सामाजिक सञ्जालमार्फत् गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक विष्टले भने, “शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप केही खुल्नेछ ।”
मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदनमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहिन भएको उल्लेख गरेका थिए ।
निज मनबहादुर भुजेलले पेश गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरिक्षक विष्टले बताए। हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरिक्षक विष्टको भनाइ थियो ।