बजेटको तयारीमा तनहुँका स्थानीय सरकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बजेटको तयारीमा तनहुँका स्थानीय सरकार

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँका स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट, नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेका छन् । यही असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधानका कारण जिल्लाका चार नगरपालिका र छ गाउँपालिका अन्तिम तयारीमा छन् ।

    जिल्लाको देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केही स्थानीय तह सुझाव सङ्कलनमा व्यस्त छन् । अधिकांश स्थानीय तहले भने इमेलमार्फत नै सुझाव माग गरेका थिए ।

    शुक्लागण्डकी नगरपालिकाले बजेट, नीति तथा कार्यक्रमलाई जनमैत्री बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गरेको छ । नगरप्रमुख कृष्णराज पण्डितले बजेट, नीति तथा कार्यक्रममा नगरवासीको अपनत्व वृद्धि गराउन सबै पक्षबाट सुझाव लिइएको बताए । प्राप्त सुझावलाई समेटेर आगामी आवको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्ने पण्डितले उल्लेख गरे ।

    उनले भने, “स्थानीय सरकार जनताको नजिकको सरकार हो, स्थानीय सरकारमा नगरवासीले आफ्नो अपनत्व खोज्नु स्वाभाविक हो, हामी त्यसमा सचेत छौँ, नगरवासीको रचनात्मक सुझावलाई समेट्छौँ ।”

    नगरपालिकाले नगर सल्लाहकार, राजनीतिक दल, बौद्धिक व्यक्तित्व, नागरिक समाज, नागरिक सरोकार मञ्च, उद्योग वाणिज्य सङ्घ, लियो, जेसिज, युवा क्लब, टोल विकास संस्था, मजदुर, निर्माण व्यवसायी, सहकारी, बैंक तथा वित्तीय संस्था, महिला, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, दलित, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, कृषक लगायतसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव सङ्कलन गरेको छ ।

    व्यास नगरपालिकाकाले आइतबार नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । करिब १ अर्ब ६० करोडको बजेट प्रस्तुत गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार नीति बजेट तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

    आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको नगरपालिकाले भने यो पटक घटाएर करिब १ अर्ब ६० करोड को बजेट ल्याउनने अनुमान गरिएको छ।

    न्यौपानेका अनुसार संघीय एवं प्रदेश सरकारले दिदै आएको ससर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट घटेको बताए । उनले भने,“बजेट घटेपनि सबै कार्यक्रमलाई समेटिएको छ । सबै क्षेत्रलाई प्राथमिकमा राखि बजेट ल्याउने छ । ”

    उनका अनुसार नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी बजेट निर्माण गरिएको हो । आर्थिक वर्ष २०८०÷८१ को वजेट तथा कार्यक्रमको लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समिति मार्फत छलफल गरि नीति, वजेट तथा कार्यक्रम तयार गरिएको छ ।

    अघिल्लो वर्ष हरेक वडालाई १ करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने १ करोडको बजेट मात्र मापदण्ड तय गरिएको छ । वडाबाट आएका योजना छनौटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण,आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा राखिएको उनले बताए ।

    नगरपालिकाले सबै वर्गलाई समेटेर बजेट ल्याउन लागिएको उपप्रमुख इन्दिरा दरैले बताईन् । उनका अनुसार बालविवाहलाई रोक्नको लागि २० वर्ष पुगेर बिहे गर्ने युवतीलाई १० हजार प्रोत्सान रकम दिईने निति ल्याईने भएको छ । दलित चेपाङ,दरै, बोटे र कुमाल समुदायका युवतीहरुले २० वर्ष पुगेपछि बिहे गरेमा उक्त प्रोत्सान रकम प्रदान गरिने उनले बताइन् ।

    महिला उद्यमीहरुको व्यवसायलाई प्रोत्सान गर्न व्यापार मेलाको आयोजना समेत गरिने कार्यक्रम ल्याउने उनले बताईन् । त्यस्तै विदेशबाट फर्किएर आएका महिलाहरुलाई यहि रोजगारी दिने कार्यक्रम ल्याईने उपप्रमुख दरैले जानकारी दिइन् ।