दमाैली । धान दिवसको अवसरमा तनहुँमा आयोजित छिटो धान रोप्ने प्रतियोगितामा सविना थापा प्रथम भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँले शुक्रबार म्याग्दे गाउँपालिका–४ मा आयोजना गरेको हिले महोत्सवका अवसरमा आयोजित छिटो धान रोप्ने प्रतियोगितामा व्यास नगरपालिका–४ निवासी थापा प्रथम भएकी हुन् ।
प्रतियोगितामा प्रेमकुमारी थापा द्वितीय, निशा पण्डित तृतीय भएकी छन् । छिटो धान रोप्ने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु एक हजार पाँच सय, रु एक हजार र रु पाँच सय प्रदान गरिएको छ ।
त्यस्तै डोरी तान्ने प्रतियोगितामा पुरुषतर्फ व्यास युवा समूह दुम्सी प्रथम भएको छ भने न्यु भिजन युवा क्लव जामुने दोस्रो भएको छ । उक्त प्रतियोगितामा १२ समूहको सहभागिता रहेको प्रतिष्ठानका सचिव अनुराग थापा मगरले जानकारी दिए।
महिलातर्फ सैनिक मोइ समूह गुणादी प्रथम र नमूना आमा समूह धारादी दोस्रो भएको छ । उक्त प्रतियोगितामा १५ समूहको सहभागिता रहेको थियो ।
डोरी तान्ने प्रतियोगितामा विजेतालाई रु पाँच हजार पाँच सय र उपविजेतालाई रु तीन हजार पाँच सय प्रदान गरिएको छ ।
श्रीमती बोकेर दौडने प्रतियोगितामा मोती श्रेष्ठ विजयी हुनुभएको छ भने बेलुन फुटाई प्रतियोतिामा सविना थापा विजयी हुनुभएको प्रतिष्ठानले जनाएको छ । श्रीमती बोकेर दौडिने प्रतियोगिताका विजेतालाई रु एक हजार र बेलुन फुटाई कार्यक्रमका विजयीलाई रु पाँच सय प्रदान गरिएको छ ।
लोक संस्कृतिको प्रबद्र्धनका लागि प्रतिष्ठानले हिले महोत्सव आयोजना गरेको छ । प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वले भने, “प्रतिष्ठानले यसअघि तीन पटक जिल्लाका विभिन्न ठाउँमा यो कार्यक्रम गरिसकेको छ, यो पटक म्याग्देको गुणादीमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सफल भयौ ।”