बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीद्वारा ख्वप अस्पताल निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीद्वारा ख्वप अस्पताल निरीक्षण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित च्याम्हासिंहस्थित ख्वप अस्पताल र ब्रम्हायणीस्थित ख्वप अस्पतालको अन्तरंग सेवाको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री जोशीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी, पुष्पगुच्छा र खादाले अस्पताल परिसरमा स्वागत गरेका थिए ।

    मन्त्री जोशीले अस्पतालको इमर्जेन्सी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, एक्स रे सेवा, अक्सिजन प्लान्ट आदिको निरीक्षण समेत गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले ख्वप अस्पतालमा उपचाररत बिरामीहरुसँग भेटी बिरामीहरुको स्वास्थ्य अवस्था र अस्पतालबाट प्रवाहित स्वास्थ्य सुविधाको प्रभावकारिता र अस्पतालको आगामी योजनाबारे जानकारी हासिल गरेका थिए ।

    मन्त्री जोशीले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताउँदै ख्वप अस्पताललाई आवश्यक सहयोग गर्न बागमती प्रदेश सरकार सँधै सकारात्मक रहेको बताए । उनले बागमती प्रदेशअन्तर्गत रहेका अस्पतालको व्यवस्थापन र स्तरोन्नति गर्नेतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउँदै आगामी दिनहरुमा पनि ख्वप अस्पतालको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    निरीक्षणमा नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँ, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थ र अस्पतालका निम्ति मेडिकल डाइरेक्टर मजेशप्रतापको उपस्थिति रहेको थियो ।