दमौली । दुई सय दशौँ भानुजयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा नवलपुरका दयाराम पौडेल प्रथम भएका छन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा आज आयोजना गरेको प्रतियोगितामा नवलपुरको देवचुली नगरपालिका–२ का पौडेल प्रथम भएका हुन् ।
प्रतियोगितामा तनहुँको देवघाटका विवेक पराजुली द्वितीय, तनहुँकै भानु नगरपालिका–४ का विनायक नेपाली तृतीय र सोही ठाउँका सूर्यदेवी पौडेल र आयुष आचार्य सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र एक हजार पाँच सय नगद प्रदान गरिनेछ ।
रामायण वाचन प्रतियोगितामा तनहुँको भानु नगरपालिका–४ का आराध्या ढकाल प्रथम, व्यास नगरपालिकाका स्वाधीनता पौडेल द्वितीय, भानु नगरपालिका–४ का प्रस्तुती आचार्य तृतीय र विनिषा श्रेष्ठ र रक्षा पौडेल सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः रु पाँच हजार, रु तीन हजार, रु एक हजार र रु पाँच सय नगद प्रदान गरिनेछ ।
भानुजयन्तीको विशेष अवसरमा भोलि शुक्रबार आयोजना हुने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । भानुजयन्तीको अवसरमा भोलि प्रभातफेरि, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ ।
भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविकारूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।
मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।
गण्डकी प्रदेशले भानुजयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदासमेत दिएको छ । प्रदेश मन्त्रिपरिषद्को मिति २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा उक्त दिन बिदा दिने निर्णय गरिएको हो । –––