सबै धर्म संस्कृतिको सम्मान र अनुकरण गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सबै धर्म संस्कृतिको सम्मान र अनुकरण गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८०, सोमबार

    दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै धर्म, संस्कृृतिको सम्मान र अनुकरण गर्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्वयनधाममा साेमबारदेखि सुरु भएको बोलबम धार्मिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सबै धर्म संस्कृतिको अनुकरण गर्न सकिए मानिसमा सकारात्मक सोचको विकास हुने बताए ।

    साथै उनले समाज विकासमा समेत यसले ठूलो टेवा पुग्ने धारणा राखे । मुख्यमन्त्री पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोड्न सकिए विकास सम्भव रहेको उल्लेख गरे ।

    च्वयनधाम र गौसंरक्षण केन्द्र सञ्चालनार्थ आर्थिक सङ्कलन गर्ने उद्धेश्यसहित च्वयनधाममा बोलबम महोत्सव आयोजना गरिएको हो । साउन १५ गतेसम्म हुने उक्त महोत्सवमा भागवत् मञ्जरी राधिका दासीजीले कथा वाचन गर्नेछन् ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, अशोककुमार श्रेष्ठ लगायतले महोत्सव सफलताको शुभकामना राखेका थिए ।

    महोत्सव मूल समारोह समितिका संयोजक विमलप्रसाद रिमालका अनुसार महोत्सवको क्रममा भक्तजन तथा दानवीरहरुबाट सङ्कलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिनेछ । उहाँका अनुसार महोत्सवबाट रु एक करोड सङ्कलन गर्ने लक्ष्य छ । च्यवनधामले प्रत्येक वर्ष साउन महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ ।

    च्वयनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको छ । यहाँ शिव मन्दिरको अलवा मुक्तिनाथकै झल्को दिने एक सय ८ धारा, एक सय ८ ओमकार कल्पवृक्ष, एक सय ८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क लगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीको लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरुपतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको च्वयनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।