दमौली । जिल्ला समन्वय समिति तनहुँले व्यास नगरपालिका-३ मा निर्माण सम्पन्न भएका व्यापारिक सटरको टेण्डर आव्हान गरेको छ। मालपोत लाइनमा निर्माण सम्पन्न भएका सटर भाडामा लगाउन जिससले आइतबार टेण्डर आव्हान गरेको हो ।
टेण्डरको अवधि साउन २९ सम्म रहेको छ। साउन २८ सम्म दरभाउपत्र खरिद गरी साउन २९ सम्म १२ बजेभित्र शिलबन्दी दरभाउपत्र बुझाउन सकिने जनाइएको छ ।
त्यहॉ २५ वटा सटर निर्माण भएका छन् । त्यसमध्ये एक सटर व्यास नगरपालिकालाई उपलब्ध गराउने निर्णय भएको छ ।
बॉकी २४ सटर मध्ये पहिलो सटरको न्यूनतम मासिक भाडा रु ११ हजार र बॉकीको भाडा न्यूनतम रु ९ हजार ५ सय तोकिएको छ ।
प्रत्येक सटरमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने भएकाले प्रत्येक सटरका लागि कार्यालयबाट टॉस गरिएको सटर नम्बर उल्लेख गरी छुट्टाछुट्टै शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने उल्लेख गरिएको छ । एउटा व्यक्ति, फर्म तथा कम्पनीले बढीमा दुई वटा सटरका लागि मात्र शिलबन्दी दरभाउपत्र पेश गर्न पाउने जिससले जनाएको छ ।
जसको दरभाउपत्र स्वीकृत भई भाडा सम्झौता हुन्छ सोही प्रस्तावदाताले कोठा प्रयोग गर्नुपर्ने र अर्को पक्षलाई भाडामा लगाउन नपाइने बताइएको छ ।