दमौली । आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनी माध्यमिक विद्यालय बन्द गरिएको हो । खैरेनी माध्यमिक विद्यालयले साउन २२ गतेदेखि २४ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले बताए ।
उनले भने, “हाल नेपालभर फैलिएको आँखा पाक्ने रोगले यस विद्यालयमा पनि अधिकांश शिक्षक तथा विद्यार्थीमा सङ्क्रमण देखिएकाले तीन दिन शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय भएको छ ।”
बिदाकौ दिनमा विद्यार्थीको सरसफाइ, खानपिनमा ध्यान दिन र अन्य व्यक्तिहरूसँगको सम्पर्कमा जान नदिने कुरामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पञ्चमुनी माध्यमिक विद्यालयले साउन १९ र २० गते विद्यालय बन्द गरेकामा त्यसलाई निरन्तरता दिँदै साउन २३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा विद्यार्थीमा रोगको सङ्क्रमण देखिएकाले विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । हिउँदे बिदाबाट कट्टा हुने गरी आवश्यकताअनुसार शनिबारसमेत विद्यालय सञ्चालन गर्न सकिने भन्दै साउन २४ गतेदेखि विद्यालय सुचारु हुने वा सङ्क्रमण नियन्त्रण नरहे पुनःसूचना जारी गरिने जनाइएको छ ।
जिल्लाका विभिन्न ठाउँमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेको छ । एक्कासी एउटा अथवा दुवै आँखा रातो हुने, आँखा धेरै चिलाउने, कचेरा लाग्ने वा टाँसिने, आँखाबाट आँसु बगिरहने, आँखा सुन्निने आँखा पाक्ने रोगको लक्षण हुन् ।
यसबाट बच्न जथाभावी रूपमा आँखा नछुने, आँखा छुनुभन्दा पहिले राम्ररी साबुनपानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्नुपर्ने डा सञ्जीव अधिकारीले बताए । आँखा पाक्ने रोग लागि सकेपछि पटकपटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुने गर्न उनले आग्रह गरे ।