चुँदीरम्घालाई साहित्यिक पर्यटकीय स्थल बनाउन स्थानीयकाे अग्रसरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुँदीरम्घालाई साहित्यिक पर्यटकीय स्थल बनाउन स्थानीयकाे अग्रसरता

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८०, बुधबार

    दमाैली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय स्थल बनाउन स्थानीय कस्सिएका छन् । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यहाँका स्थानीय यसको प्रचारप्रसारमा जुटेका हुन् ।

    राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यसँग सम्बद्ध स्थलहरुको पुनर्निर्माण, खोज अनुसन्धान, सम्बद्र्धन, प्रचारप्रसार गर्ने उद्धेश्यका साथ स्थानीयबीच प्रारम्भिक चरणको छलफल बुधबार सम्पन्न भएको छ ।

    चुँदी रम्घा बनाऔं अभियानको संयोजनमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाट लगायतको सहभागितामा आयोजित छलफलले आदिकविको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थल बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

    भानुजयन्तीको दिन मात्रै यस ठाउँको खोजी हुने गरेकाले वर्र्र्षभरी यसको चर्चा हुने गराउन आफूहरु जुटेको अभियन्ता सन्देश आचार्यले बताए। उनले भने, “आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेको महशुस भएपछि स्थानीयवासी एक भएर यसको प्रचारप्रसारमा जुटेका हौ ।” आचार्यले विसं २०७८ भदौ ७ गतेदेखि चुँदी रम्घा बनाऔं अभियान चलाउँदै आएका छन् ।

    चुँदी रम्घालाई साहित्यिक पर्यटकीय स्थल बनाउने अभियान अन्तर्गत भानु स्मारकको संरक्षण, सम्बद्र्धन एवं पुनर्निर्माणको तयारी गरिएको छ । त्यसका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरिने स्थानीय राजिव श्रेष्ठले बताए। उनले भने, “चुँदीरम्घालाई साहित्यिक एवं पर्यटकीय थलोको रुपमा विकास गर्नका लागि केही पहलकदमी अगाडी बढाएका हौ । पहिलो चरणमा भानु स्मारकको काम हुनेछ । त्यसका लागि सबैको सहयोग आवश्यक परेको छ ।”