जिल्ला सभागृह अपाङ्गतामैत्री नभएकामा सभापति पन्थको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला सभागृह अपाङ्गतामैत्री नभएकामा सभापति पन्थको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तनहुँको दमौलीमा निर्माणको अन्तिम चरणमा पुगेको सभागृह अपाङ्गतामैत्री नभएकामा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

    सभापति पन्थले आज प्रेस विज्ञप्ती जारी गरी व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माणाधीन सभागृह पहुँचयुक्त तथा अपाङ्गतामैत्री नभएकामा खेद प्रकट गरेका हुन् । उनले यस सवालमा आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    सभापति पन्थले भने, “नेपाल सरकारले २०६९ सालमै अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका जारी गरिसकेको र सबैका लागि पहुँचयुक्त भौतिक संरचना निर्माणका सम्बन्धमा व्यापक जनचेतना भइरहेको सन्दर्भमा, अझै पनि मानव निर्मित सार्वजनिक भौतिक संरचनाहरु पहुँचयुक्त मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप डिजाइन र निर्माण नहुनु अत्यन्तै दुखद छ । यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।”

    सभापति पन्थले अपाङ्गताको सवालमा समयमै हस्तक्षेप गर्ने र अधिकारको सवालमा खरो उत्रिने अपाङ्गता अधिकारकर्मी समेत आफ्नै नजर अगाडी चुक्नु भएको महशुस भएको बताए । उनले भने, “यसतर्फ अपाङ्गता अधिकारकर्मी, सरोकारवाला लगायत हामी सबैको समयमै ध्यान नपुगेकै हो ।”

    पन्थले सभाहल सबैका लागि पहुँचयुक्त र अपाङ्गतामैत्री बनाउन सरकारसँग माग गर्दै यस सवाललाई जिम्मेवारी र गम्भीरतापूर्वक लिँदै समस्या समाधान र सुधार गर्नुपर्ने जिम्मेवारी समेत महसुस गरी सरकारका सम्बन्धित निकायसँग आवश्यक निरन्तर छलफल र समन्वय भइरहेको उल्लेख गरे ।

    सभागृह अपाङ्गतामैत्री नभएको भन्दै जिल्लामा अपाङ्गता अधिकारकर्मी आन्दोलित छन् । उनीहरुले आजमात्रै सभागृहको मुल गेटमा तालाबन्दी गरेका छन् ।