दमौली । व्यास नगरपालिका-३ मा निर्माण सम्पन्नको चरणमा रहेको जिल्ला सभागृहको नाम फेर्ने निर्णय यतिबेला विवादित बनेको छ। जिल्ला समन्वय समिति तनहुँले जिल्ला सभागृहलाई विपी स्मृति भवन राख्ने निर्णय गरेसँगै विवाद बढेको हो ।
जिल्ला सभाको विसं २०७८ चैत ९ गतेको बैठकले सभागृहको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । त्यतिबेला जिल्ला सभामा नेपाली कांग्रेसको एकल बहुमत थियो । बहुमतको आडमा उक्त निर्णय भएको थियो ।
त्यतिबैले सात दलले उक्त निर्णय सच्याउन माग गर्दै समन्वय प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । केही दिन अगाडी मात्रै नेपाली कांग्रेस बाहेकका १२ दलले पुन: ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन माग गरेको छ।
हाल जिल्ला सभामा नेपाली कांग्रेसको मात्रै एकल बहुमत छैन । जिल्ला सभाका २० सदस्यमध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट ६ र नेकपा माओवादी केन्द्रबाट ४ सदस्य छन् ।
सभागृहको नाम कुनै एक पार्टीका नेताबाट राख्न नहुने आवाज आउन थालेको छ । नेकपा माओवादी व्यास नगर कमिटी संयोजक रामचन्द्र सापकोटाले सभागृहको सम्झौता हुँदाकै नाम हुनुपर्ने पार्टीको प्रष्ट धारणा रहेको बताए।
अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष आरके पाेख्रेलले नामकाे विषयमा अनावश्यक राजनीति गर्न नहुने बताए । उनले भने, ‘तनहुँ सभा हलमा माक्स लेनिनको नाम राख्नुपर्छ भनिएको छैन, मदन भण्डारीको नाम राखौं भनिदैन तर तनहुँकै योद्धाहरुको नाम राख्नुपर्छ । एकदेव आले, भानुभक्त, गोकुल जोशी लगायतको नाम राखौं हैन भने अर्को सत्ता कुनै दिन हाम्रो हातमा आउँदा नाम फेर्न नपरोस् सत्ता पेवा हैन । सत्तामा पुगेपछि साझा बन्ने प्रयत्न गर्नुहोला ।’
अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलले सहिद स्मृति भवन वा दमौली, व्यास, सहिद स्मृति सभागृह राख्दा उपयुक्त हुने बताए । व्यास-११ निवासी रमेशप्रसाद आचार्यले भने यसको नाम भानुभक्त आचार्यको नाममा राख्दा न्याय हुने बताए ।