चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनपछि जिल्लाका अस्पतालहरूले पार्किङ शुल्क हटाएका छन् । चितवन मेडिकल कलेजबाहेक सबै अस्पतालमा पार्किङ निःशुल्क गरिएको हो । मेडिकल कलेजले केही दिनभित्रै पार्किङ निःशुल्क गर्ने जनाएको छ । भरतपुर अस्पतालले आजदेखि पार्किङ शुल्क हटाएको छ ।
यसअघि नै अन्य अस्पतालहरूले पार्किङ शुल्क हटाएका थिए । केही दिनअघि भरतपुर आँखा अस्पतालले सूचना जारी गरी पार्किङ निःशुल्क गरेको थियो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, कलेज अफ मेडिकल साइन्सेसलगायतका साना अस्पतालहरूले पार्किङ निःशुल्क गरेका छन् ।
मन्त्री जोशीले गत साउन २ गते मन्त्रिस्तरीय निर्णय गरी ३ गते सबै अस्पतालहरूमा पार्किङ निःशुल्क गर्न पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार तत्कालै प्रादेशिक अस्पतालहरूमा निःशुल्क गरिएको थियो । सङ्घीय अस्पतालमा पार्किङ निःशुल्क गर्न सङ्घीय स्वास्थ्य मन्त्रीलाई आवश्यक निर्देशनका लागि अनुरोध गरिएको मन्त्री जोशीले बताए ।
उनले भने, “बागमती प्रदेशभित्रका प्रायः सबै अस्पतालले पार्किङ निःशुल्क गरेका छन् ।” बाँकी रहेकाहरूलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको उनले बताए ।