दमाैली । तनहुँको दमौलीमा निर्माण सम्पन्न हुने चरणमा रहेको सभागृहको उद्घाटन भदौ २४ गते नहुने भएको छ । यसअघि भदौ २४ गते बिपी जयन्तीको अवसरमा उक्त सभागृहको उद्घाटन गर्ने तयारी गरिएको थियो ।
सभागृह अपाङ्गतामैत्री नभएको विरोधमा जिल्लाका अपाङ्गता अधिकारकर्मीले भदौ १ गतेदेखि विरोध कार्यक्रम सुरु गरेका थिए । सभागृहका संरचना अपाङ्गतामैत्री नभएसम्म सभागृह उद्घाटन गर्न नदिने अडान उनीहरुको थियो ।
त्यसपछि अहिले सभागृहका संरचना अपाङ्गतामैत्री बनाउन धमाधम काम भइरहेको छ । भदौ २४ गतेसम्म काम नसकिने भएपछि उद्घाटन कार्यक्रम धकेलिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भदौ २४ गतेको कार्यक्रमलाई असोज ६ गते सारिएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलको कार्यव्यस्तताका कारण भदौ २४ गते कार्यक्रम हुन नसक्ने जानकारी आएको उनको भनाइ छ ।