दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ–२ का सांसद शङ्कर भण्डारीले चुनावमा जनतामाझ गरेको बाचा नभुलेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–५ नेपालटार र बरबोटेमा साेमबार आयोजित स्थानीयवासीको भेटघाटमा पूर्वमन्त्री भण्डारीले चुनावका बेला बोलेका विकासका योजना पूरा गर्नेतर्फ आफू लागिपरेको बताए।
विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै भण्डारीले जनताको हरेक समस्या समाधानमा सँगै रहेको उल्लेख गरे । उनले भने, “चुनावका बेला बोलेका कुरा अझैपनि मेरो मानसपटलमै छ, जिम्मेवारीबाट भाग्ने कुरा हुँदैन । विकासका काममा मैले सकेको गर्छु ।”
तनहुँ क्षेत्र नम्बर २ मा २८ वर्षपछि काङ्ग्रेसले जितेको र विगतमा जितेका प्रतिनिधिले विकास नगर्दा यो क्षेत्र पिछडिएको उनकाे भनाइ थियो । भण्डारीले भने, “२८ वर्षसम्म हुन नसकेको काम मैले मेरो पाँच वर्षे कार्यकालमा गर्नेछु ।”
पूर्वमन्त्री भण्डारीले पछिल्लो समय सनातन हिन्दुधर्ममाथि आक्रमण बढेको बताए । उनले यसतर्फ सचेत हुनुपर्ने बताउँदै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए। सनातन हिन्दु धर्ममाथि आक्रमण बढ्दै गए देश खतरामा पर्ने भएकाले हरेक नेपाली पार्टीभन्दा माथि उठ्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपालटार टोल विकास संस्थाका अध्यक्ष सोमप्रसाद पौडेलले ८४ घरधुरी आबद्ध टोलमा पानीको समस्या रहेकाले यसतर्फ पूर्वमन्त्री भण्डारीको ध्यानाकर्षण गराए। त्यस्तै टोल विकास संस्थाको भवन पहिरोको चपेटामा परेको, टेलिफोन टावर वृद्धि गर्नुपर्ने लगायतका माग उहाँले राख्नुभयो ।
बरबोटे टोल विकास संस्थाका अध्यक्ष मानकाजी श्रेष्ठले देउपुरी खोल्सी खानेपानीको ट्याङ्की निर्माण गर्नुपर्ने, साँगे खोलामा पुल निर्माण गर्नुपर्ने माग राखे।