डेङ्गु परीक्षणकाे ६ सय भन्दा बढी लिन नपाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डेङ्गु परीक्षणकाे ६ सय भन्दा बढी लिन नपाइने

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८०, मंगलवार

    दमाैली । डेङ्गु परीक्षणका लागि जिल्लाका स्वास्थ्य संस्थाले बढी शुल्क लिएपछि दमौली बजारमा सञ्चालित विभिन्न अस्पताल तथा क्लिनिकको आज अनुगमन गरिएको छ ।

    दमौली बजारमा सञ्चालित अस्पताल तथा क्लिनिकहरुले डेङ्गु परीक्षणका लागि चर्को शुल्क लिएको गुनासोपछि प्रशासन कार्यालय तनहुँको नेतृत्वमा अनुगमन गरिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले डेङ्गु परीक्षण गर्दा अत्याधिक बढी शुल्क लिएको गुनासो आएको जानकारी दिए। सोही विषयमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा आजै बसेको बैठकले बढीमा रु छ सयभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ ।

    डेङ्गु परीक्षण गर्ने किटको औषत मूल्य तथा छिमेकी जिल्लाको अभ्यास समेतलाई दृष्टिगत गरी प्रति परीक्षण बढीमा रु छ सय भन्दा बढी शुल्क नलिने निर्णय भएको सहायक प्रजिअ गैह्रेले बताए ।

    बैठकले डेङ्गु परीक्षणका लागि निर्धारण गरिएको शुल्कभन्दा बढी शुल्क नलिने सम्बन्धमा ल्याब सञ्चालकहरु जिम्मेवार हुने निर्णय गरेको छ । यसका साथै जिल्लामा डेङ्गु परीक्षण गर्ने किटको कृत्रिम अभाव हुन नदिन र तोकिएभन्दा बढी शुल्क असुल उपर गर्न नदिनका लागि दमौली अस्पताल तथा स्वास्थ्य कार्यालय तनहुँले नियमित रुपमा अनुगमन गरी प्रतिवेश गर्ने निर्णय भएको छ ।

    जिल्लामा डेङ्गु रोग बढ्दो क्रममा रहेको हुँदा रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला सबै निकायहरुले आपसी समन्वय एवं सहकार्य गर्ने निर्णय भएको छ ।

    जिल्लामा हालसम्म सात सय ३२ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । दमौली अस्पतालमा डेङ्गु किट प्रशस्त रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।