दमौली । शिक्षकहरु आन्दोलनमा काठमाडौ गएपछि बिहीबार तनहुँका सबै विद्यालय बन्द भएका छन् । शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौ गएसँगै पठनपाठन प्रभावित भएको हो ।
तनहुँका अधिकांश विद्यालयले सूचना जारी गरी विद्यालय बन्द रहने जनाएका छन् । जिल्लाका सबै पालिकाबाट शिक्षकहरु आन्दोलनका लागि काठमाडौ पुगेका छन् ।
विधेयकको परिच्छेद–७ मा शिक्षकको सरुवा तथा बढुवाको अधिकार पालिकालाई दिइने प्रावधान छ । यसमा शिक्षकहरूको मुख्य असन्तुष्टि छ । उनीहरूले यो अधिकार जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने माग राखेका छन् ।
शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको नेतृत्व र आह्वानमा आन्दोलन थालिएको छ ।
नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा मन्त्रालयले अस्ति मङ्गलवार वार्तामा बोलाएको थियो । तर शिक्षक महासङ्घ यो वार्तामा बसेन । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरी व्यवस्था मिलाएको महासङ्घले जनाएको छ ।