दमाैली । राष्ट्रपति रामचन्द्र पौडेलले दलीय राजनीतिमा हात नहाल्ने र विकासबाट हात नझिक्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको दमौली सभागृहको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताए ।
राष्ट्रपति पौडेलले भने, “देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।” सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले विकास नै पहिलो शर्त रहेको उल्लेख गरे ।
संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायीत्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे। उनले भने, “परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएको नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।” सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे।
व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने जिकिर गरे।
अति दलबन्दीले निमुखाको न्याय मर्ने बताउँदै राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको बताए । दलहरु मिलेर आपसमा सहकार्य गरेर राष्ट्रिय एकतामा मिलेर काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने बताए। उनले भने “दुई वटा ठूला देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ । सबै दल मिले मात्रै देश बलियो हुन्छ ।”
शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरिन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सबै दलको एकताबाट मात्रै विकास सम्भव रहेको उल्लेख गरे।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनबाट पूर्वाधार विकासमा जोड दिइएको बताए। यो देशमा केही हुन सक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै उनले नैराश्यताको फाइदा उठाएर गलत काम गर्नेहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ल्ेले कुशासनले विकास रोकिएको बताए । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले असमझदारीले मुलुक पछाडि परेकाले सबै दलबीच एकता आवश्यक रहेको बताए।
काठमाडौ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले समयमा काम नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र प्रकाश पन्थले समृद्ध तनहुँका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
शहरी विकास मन्त्रालयको रु २३ करोड ६२ लाखको लागतमा दमौली सभागृह निर्माण सम्पन्न भएको मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले जानकारी दिए।
विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना कहरका कारण ढिलाई भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो ।
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । सभागृहको क्षमता ५ सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण भएको छ । सभाहल बाहिर फाउण्टेन सहितको भिआइपी पार्किङ स्थल समेत रहेको छ ।