सिद्धगुफाभित्र बस्यो बन्दीपुरको कार्यपालिका बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिद्धगुफाभित्र बस्यो बन्दीपुरको कार्यपालिका बैठक

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८०, बिहीबार

    दमौली । तनहुँको बन्दिपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ । विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दिपुर–४ काे सिद्धगुफाभित्र कार्यपालिका बैठक गरेको हो ।

    सिद्धगुफाको प्रचारप्रसार र पर्यटन दिवसका अवसर पारेर गुफाभित्रै बैठक बसेर विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “बुधबार पर्यटन दिवस रहेकाले कार्यालयमा भन्दा सिद्धगुफा बैठक बसेर पर्यटन प्रवर्धनका लागि गाउँपालिका सधैँ प्रतिबद्ध रहेको छ भन्ने सन्देश दिन खोजेका हौँ ।” बैठकले आउँदाे माघ १९ गते सिद्धगुफा महोत्सव आयोजना गर्ने निर्णय पनि गरेको छ । 

    पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा रहेकाे सिद्धगुफा समुद्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ । विसं २०४४ साल चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर सम्लिङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दिपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।

    पुरातत्त्विद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालीन मानवद्वारा निर्मित, धार्मिक एवम् ऐतिहासिक पुरातात्त्विक महत्त्वकाे यस गुफालाई अन्दाजी तीन हजार पाँच सय वर्ष पुरानो मानिएको छ । शुरुमै गुफाभित्र फेला पारिएका पुरातात्त्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाको पैसा, पानीको घैँटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, टेराकोटाको शुल्पा र सानो थाल जस्तो आदि वस्तु १६ र १७ औँ शताब्दीअघिको रहेकाे अनुमान गरिएको छ ।