महिनैपिच्छे दमौली आसपास हुने मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष असर परेको छ : दमाैली इकाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    महिनैपिच्छे दमौली आसपास हुने मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष असर परेको छ : दमाैली इकाइ

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८०, शुक्रबार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइले महिनैपिच्छे दमौली आसपास हुन लागेका मेला महोत्सवले स्थानीय व्यवसायीमा प्रत्यक्ष असर परेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँ र व्यास नगरपालिकालाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाउँदै सङ्घले आर्थिक सङ्कटको अवस्थामा दमौली बजारको एक किलोमिटर आसपासमा एक महिनाको अन्तरालमा हुन लागेको मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष र दीर्घकालिन असर पुगेको जनाएको छ ।

    व्यास नगरपालिका–१ हाइस्कूलटारमा गत भदौ २७ गतेदेखि असोज ७ गतेसम्म प्रथम भोटी बजार महोत्सव आयोजना गरिएको थियो । त्यस्तै व्यास नगरपालिका–५ पाटनमा कात्तिक अन्तिम सातादेखि दोस्रो पाटन सांस्कृतिक महोत्सव हुँदैछ ।

    निजी क्षेत्रलाई टिकाउन सकेमात्र राज्यको अर्थतन्त्र सबल र सक्षम हुने हुँदा अहिलेको चरम आर्थिक सङ्कटको अवस्थामा चाडबाडको मुखमा आयोजना हुने मेला महोत्सवले व्यवसायमा असर परेको इकाई सभापति भूपाल आलेले बताए ।

    त्यस्तै महामारीको रुपमा व्यापक मात्रामा फैलिदै गएको डेङ्गु रोगका कारण विशेषगरी दमौली बजार क्षेत्र र वरपर रहेका विभिन्न स्थानमा सर्वसधारणको ज्यान नै गएकाले महामारीको अवस्थामा मेला महोत्सव सान्दर्भिक नरहेको आलेको भनाइ छ । उनले भने, “यस्तो महामारीको अवस्थामा मेला महोत्सव गर्नुपक्कै पनि सान्दर्भिक ठहरिँदैन । यसप्रति बजारमा विभिन्न किसिमका टिकाटिप्पणी भएकाले सोको सम्बन्धमा सम्बन्धित निकायहरुबाट ध्यानाकर्षण होस् भन्ने चाहेका छौ ।”

    निजी क्षेत्रले यसअघि कहिल्यै भोग्न नपरेको आर्थिक सङ्कटको संवेदनशील क्षणमा एक अर्काको परिपुरकका रुपमा स्थानीय तह तथा सरोकारवाला सबैले निजी क्षेत्रलाई टिकाउनका निमित्त असल सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने चाहना व्यवसायीको रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    यसका साथै नजिकिदै आइरहेको दशैं, तिहार, छठ पर्वलाई मध्यनजर गरी आम उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखी म्याद गुज्रिएका, गुणस्तरहीन, अखाद्य सामानहरुको जाँचका निमित्त सम्बन्धित निकायबाट आवश्यक अनुगमन गर्न माग गरिएको छ ।