दमौली । तनहुँको व्यास नगरपालिका-१२ कमलाबारी घर भई हाल बेलायतमा रहेका डा. बच्चुकैलाश कैनीले स्वर्गीय बाबुआमाको सम्झनामा मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग गरेका छन् ।
कैनीले स्वर्गीय मेघनाथ कैनी र बोधकुमारी कैनीको सम्झनामा सोह्र श्राद्धको पुण्यतिथि पारेर मानवसेवा आश्रममा एक लाख ११ हजार १ सय ११ सहयोग गरेका हुन् ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर भएका सहयोगीपेक्षी व्यक्तिहरुको सहयोगार्थ कैनी र उनकी श्रीमती यशोदा कैनीले उक्त सहयोग गरेका हुन् ।
डा. कैनीले भने, ‘आज देखि सोह्र श्राद्ध शुरु भयो। आज मेरो बुवा स्व मेघनाथ कैनी र आमा स्व बोधकुमारी कैनीको सोह्र श्राद्ध पुन्य तिथी हो।यस अवसरमा उहाँहरुको नाम, सम्मान र सम्झनामा सबैको लागि खाना, नाना र छाना भन्ने उद्धेश्य सहित सडक आश्रित मानवमुक्त्त नेपाल निर्माण गर्न प्रतिवद्ध ‘मानवसेवा आश्रम’ को सहयोग गर्न पाउँदा खुसी लागेको छ।’
कमलाबारीमा जन्मिएका डा कैनीले ग्रीनवीच युर्निभर्सिटी लण्डनबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधी गरेका छन् ।
सन् ०१५ देखि ०१९ सम्म डार्टफोर्ड काउन्सिलको काउन्सिलरका रुपमा काम गरेका उनी सन् २०१७ को बेलायती संसदीय निर्वाचनमा डार्टफोर्ड क्षेत्रका लागि लेबर पार्टीबाट सांसद उम्मेदवार समेत भएका थिए ।