दमौली । दमौलीमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको पेलिकन्स क्रिकेट क्लवलाई एनसिएसले सहयोग गरेको छ । व्यास नगरपालिका-४ स्थित एनसिएस एडुकेशन फाउण्डेशनले क्लवलाई आर्थिक सहयोग गरेको हो ।
फाउण्डेशनले क्लवलाई वार्षिक रु ५० हजार सहयोग गर्ने गरी सहमति गरेको छ । यो सहयोगले क्रिकेट प्रतियोगिता गर्न सहयोग पुग्ने क्लवका सहसंस्थापक चन्द्रकान्त पौडेल बताउँछन् ।
क्लबको विकासमा व्यास नगरपालिकाले सुरुदेखि सहयोग गरिरहेको छ । क्रिकेट इभेन्ट विकास र आयोजना गर्न वार्षिक प्रायोजनको रूपमा व्यास नगरपालिकाले करिब रु एक लाख सहयोग गरिरहेको छ ।
पछिल्लो समयमा खेलाडीले यात्रा, बास र खानाको लागि आफ्नै खर्चहरू व्यवस्थापन गर्ने गर्दथे। तर एनसिएसले वार्षिक रुपमा सहयोग गर्ने सहमति गरेसँगै व्यवस्थापनका लागि सहयोग पुग्ने पौडेलको भनाई छ ।
क्लबको स्थापनापछि मिहीनेती खेलाडीमध्ये केहीले नेपालका विभिन्न प्रदेशबाट प्रादेशिक टोलीमा प्रतिनिधित्व गरिसकेका छन् ।
सम्बन्धित निकायले क्रिकेटमा बढ्दो आकर्षणलाई ध्यानमा राखी काम गरेमा तनहुँ नेपालको अग्रणी क्रिकेट जिल्ला बन्न सक्ने पौडेलको आशा छ । क्रिकेट मैदान नहुँदा खेलाडीहरू घरबाट टाढा बसेर विभिन्न सहर र भारतमा समेत अभ्यास गर्न बाध्य छन् ।
गत वर्ष मात्रै तनहुँ जिल्लाले तीन जिल्ला स्तरीय प्रतियोगिता जितेको छ भने चार मध्ये १ मा उपविजेता बनेको थियो ।