म्याग्देमा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को उक्त कार्यक्रम वडा नं ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    उक्त वडामा ३६ बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका रोजगार शाखा प्रमुख पविन्द्रकुमार शाहीले जानकारी दिए । रोजगार कार्यक्रममा सहभागी हुनेलाई सोमबार एक कार्यक्रमका बीच सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रोजगार कार्यक्रममा सहभागी हुनेलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाले सञ्चालन गर्ने योजनामा बेरोजगारलाई रोजगारीको व्यवस्था गरिएको बताए ।

    गाउँपालिकाले आन्तरिक बजेटबाट सुरक्षा सामग्री खरिद गरेको हो । यसअगाडिका वर्षहरूमा सङ्घीय सरकारबाटै सामग्रीका लागि बजेट आउने गरेकामा तीन वर्षदेखि भने गाउँपालिकाले आन्तरिक स्रोतबाटै सामग्री खरिद गरी वितरण गरेको शाहीले बताए ।

    गाउँपालिकाका सातवटा वडामा तीन सय १७ बेरोजगार सूचीकृत भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६८ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्दैछ । उनीहरूलाई रोजगारवापत प्रतिदिन रु छ सय ६८ प्रदान गरिनेछ । कार्यक्रमअन्तर्गत नाला निर्माण, चौतारा निर्माण, बाटोघाटोको अलवा साझेदारी कार्यक्रमअन्तर्गतका योजनामा खटाउने तयारी गरिएको छ ।

    शाहीले भने, “गाउँपालिकाले लागत साझेदारीमा सञ्चालन गर्ने योजनामा उहाँहरूलाई रोजगारी प्रदान गरिनेछ ।” वडा नं ४ बाट सुरु भएको रोजगार कार्यक्रम क्रमशः सबै वडामा सञ्चालन गरिने उहाँको भनाइ छ ।

    सोही कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरबास निर्माणलगायतका काम हुँदै आएका छन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रमअनुसार बेरोजगार सूचीमा सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्नुपर्छ ।