मौरी, कुखुरा र बाख्रा पालेर वार्षिक रु १२ लाख कमाउँछन् धनबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मौरी, कुखुरा र बाख्रा पालेर वार्षिक रु १२ लाख कमाउँछन् धनबहादुर

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८०, बिहीबार

    दमौली । तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । उमेरले ५० वर्ष पुगेका थापा हाल मौरी, कुखुरा र बाख्रापालनमा व्यस्त छन् ।

    उनले सप्तरङ्गी कृषि तथा पशु फार्म दर्ता गरी विसं २०७५ सालदेखि व्यावसायिक रुपमा कृषि पेशा सुरु गरेका हुन् ।

    बारीका ढिस्कामा मौरीका घारहरु लहरै देखिन्छ । बारीका वरपर बुट्यान भएको भूभागमा मौरीहरु फूलका रसहरु ल्याउँदै घार भित्रबाहिर गर्दै रमाउँछन् । भिमाद बजारबाट सात किलोमिटर माथि श्रृङ्गमार्गको किनारामा सप्तरङ्गी कृषि तथा पशु फार्म सञ्चालनमा छ ।

    पाँच वर्षदेखि कृषि पेशा अङ्गालेका धनबहादुरले यसबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । लामो सयमसम्म सामाजिक क्षेत्रमा काम गर्दै आएका उनी आत्मनिर्भर बन्नका लागि यो पेशा रोजेको बताउँछन् ।

    उनको फार्ममा हाल ४० वटा मौरी सहितका घार रहेका छन् । उनले यस वर्ष मौरीको गोला र मह उत्पादन गरी रु चार लाख आम्दानी गरे । एक गोला मौरी सहितको घार रु दश हजार र मानाको रु एक हजारमा विक्री हुने गरेको उनले जानकारी दिए । त्यस्तै एक हजार एक सय कुखुरा विक्री गरेर रु पाँच लाख तथा बाख्रा विक्री गरेर रु तीन लाख आम्दानी भएको उनले बताए ।

    मौरीपालन व्यवसाय गर्नका लागि कृषि ज्ञान केन्द्र तनहुँले रु दुई लाख, भिमाद नगरपालिकाबाट खानेपानीका लागि पाइप खरिदका लागि रु ७० हजार अनुदान पाएको उनले सुनाए । उनले कृषिबाट भएको आम्दानी फार्मको स्तरोन्नतिमा खर्च गरेका छन् ।

    ४० रोपनी जग्गामा कृषि गरेका थापाले विसं २०७८ सालमा २५ रोपनी जग्गा रु २० लाखमा खरिद गरेर आठ रोपनी जग्गामा उन्नत जातका घाँस, फलफूल खेती गरेका छन् ।

    विसं २०४८ सालदेखि सामाजिक क्षेत्रमा लागेर गाउँको सेवा गर्दै आएका उनले भने, “सामाजिक क्षेत्रमा मात्र लाग्दा आफ्नो आर्थिक स्तर माथि जान सकेन । सामाजिक क्षेत्रमा लागेर गरिब, दुखीको पीडामा मलम लगाउने काम गरे । तर अब आफू पनि आत्मनिर्भर बन्नुपर्छ भनेर सोचेर कृषि पेशालाई सुरु गरेँ ।”

    भिमाद बजारस्थित जनज्योति क्याम्पसको अध्यक्ष, माझकोट साना किसान सहकारी संस्थाको अध्यक्ष, कोष प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष समेत भइसकेका थापाको दैनिकी भने यतिबेला बिहान ४ बजेदेखि राति १० बजेसम्म कृषि फार्ममा बित्ने गरेको छ ।

    उनले भने, “युवाहरु रोजगारीको खोजीमा दैनिक ठूलो सङ्ख्यामा विदेशिएका छन् । उनीहरुलाई रोक्नका लागि सरकारले कृषि क्षेत्रमा लगानी गरी काम गर्ने वातावरण बनाउनुपर्छ, दुःख गर्दा स्वदेशमै कमाउन सकिन्छ ।”

    उनको बगैंचामा आँप, लिची, सुन्तला लगायतका फलफूलका बिरुवा समेत रोपिएको छ । यो वर्ष लिची र आँप विक्री गरी रु तीन लाख आम्दानी गर्ने लक्ष्य छ । सरकारले कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराएमा कृषि व्यवसायतर्फ सबैको आर्कषण बढ्ने बताए ।