दमौली । ६८ औं प्रहरी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–११ दरैपधेरामा आयोजित स्वास्थ्य शिविरबाट दुई सय ७८ जना लाभान्वित भएका छन् । गण्डकी प्रदेश प्रहरी अस्पतालको आयोजना, गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजन र जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा भएको उक्त स्वास्थ्य शिविरबाट एक सय १८ पुरुष र एक सय ६० महिला लाभान्वित भएका हुन् ।
गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका प्राविधिक प्रहरी नायव उपरीक्षक डा. रामप्रसाद शर्माको नेतृत्वमा स्वास्थ्य शिविरका लागि चिकित्सक खटिएका थिए ।
सो ठाउँका ९२ वर्षीय पञ्चमाया दरैलाई बिरामी जाँचकार्ड हस्तान्तरण गरी शिविर सुरु गरिएको थियो । शिविरमा हाडजोर्नी तथा नशारोग, महिलाहरुमा हुने महिला तथा प्रसुती रोग सम्बन्धी जाँच गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।