दमौली । युनेस्को विश्व महासंघको दशौ सभामा भाग लिन नेपालबाट आनन्दराज त्रिपाठी र प्रदीप काफ्ले दक्षिण कोरिया प्रस्थान गरेका छन् । युनेस्को महासंघको नेपाल अध्यक्ष रहेका त्रिपाठी र उपाध्यक्ष काफ्ले बुधबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका हुन् ।
यही अक्टोबर २६ देखि २९ सम्म हुन गइरहेको यो सभाले आगामी चार वर्षका लागि युनेस्को विश्व महासंघको लागि नयॉ नेतृत्व चयन गर्नेछ । सन् १९८४ मा जापानमा पहिलो सभा भएकोमा त्यसपछि प्रत्येक चार-चार वर्षमा स्पेन, सेनेगल, रोमानिया, रसिया, साइप्रस, ग्रिस, भियतनाम र सन् २०१५ मा चिनको राजधानी बेइजिङमा नवौ सभा भएको थियो ।
युनेस्कोको सिद्धान्त र आदर्शलाई विश्वव्यापी रुपमा स्थापित गर्न विश्वका युनेस्कोका सदस्य राष्ट्रहरुमा युनेस्को क्लव तथा संघसंस्थाहरुले काम गरिरहेका छन् । युनेस्कोका सदस्य राष्ट्रहरुमा काम गरिरहेका क्लव तथा संघसंस्थाहरुको छाता संस्थाको रुपमा युनेस्को महासंघले युनेस्को कन्ट्री अफिस र युनेस्को आयोगसँग समन्वय गरेर काम गरिरहेको छ भने त्यसको पनि विश्व छाता संस्थाको रुपमा युनेस्को विश्व महासंघ रहेको छ । सन् २०१९ मा हुनुपर्ने दशौं सभा विश्व महामारीका रुपमा फैलिएको कोभिडका कारण अहिले हुन लागेको हो ।