बन्दीपुरमा चुड्कामा रमाए विदेशी पर्यटक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा चुड्कामा रमाए विदेशी पर्यटक

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८०, शनिबार

    दमाैली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् ।

    स्थानीय युवायुवतीले गाएको गीतमा पर्यटक छमछमी नाचेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसान प्रधानले जानकारी दिए। उनले भने, “बन्दीपुर आएका विदेशी पर्यटकलाई यहाँको संस्कृति, रीतिरिवाजबारे जानकारी दिन चुड्का गीतमा नचाएका हौँ, उहाँहरु खुसी हुँदै नाच्नुभयो ।”

    उनीहरुलाई मौलिक वेशभूषामा सजाएर नचाइएको थियो । त्यस्तै, बन्दीपुर घुम्न आएका चिनियाँ पर्यटक पनि नेपाली गीतमा नाचेका छन् । रेशम फिरिरी गीतमा पर्यटकहरु नाचेका हुन् । “नेपाली गीतसङ्गीतप्रति उहाँहरुको निकै रुचि भएको पायाँै, पर्यटकहरु खुसी हुनुभयो”, प्रधानले भने ।

    बन्दीपुरमा यतिबेला विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । चिसो मौसम बन्दीपुरका लागि पर्यटनमा राम्रो मानिन्छ । यतिबेला बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिने क्रम बढेको छ । यो वर्षको वैशाखदेखि यता बन्दीपुरमा करिब चार हजार विदेशी पर्यटक आएका छन् ।

    पर्यटन विकासको समितिको तथ्याङ्कअनुसार सबैभन्दा बढी चीनका पर्यटक छन् । बन्दीपुरमा २६ देशबाट पर्यटक आएका छन् । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ ।

    वैशाखदेखि भदौसम्म बन्दीपुर आउने चिनियाँ पर्यटक एक हजार छ सय २२ छन् । वैशाखमा २२, जेठमा ३२, असारमा ९६, साउनमा छ सय ३० र भदौमा आठ सय ४२ चिनियाँ पर्यटक बन्दीपुर भित्रिएका थिए । चिनियाँ पर्यटकपछि बन्दीपुर आउनेमध्ये धेरै इटालीका छन् । इटालीका पाँच सय आठ जनाले बन्दीपुर भ्रमण गरेका छन् ।

    यस्तै, जापानका ६२, स्पेनका चार सय २३, नेदरल्याण्डका ६७, फ्रान्सका एक सय पाँच, अमेरिकाका ४२, जर्मनीका ७७, डेनमार्कका आठ, पाकिस्तानका ३६, अष्ट्रेलियाका एक सय ३१, बेलायतका ४४, आयरल्याण्डका १३, दक्षिण कोरियाका ३०, बेल्जियमका २९, थाइल्याण्डका २६, ताइवानका ३४, स्वीटजरल्याण्डका २५, मलेसियाका ४७, होल्याण्डका १३, पोर्चुगलका ११, चेक रिपब्लिकका २६, इरानका ३३, भारतका चार सय ६४, ग्रिसका १० र अर्जेन्टिनाका ३१ जनाले बन्दीपुरको भ्रमण गरेका छन् ।