शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८०, बुधबार

    दमाैली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो । शिलान्यास भएको सात वर्षपछि भानुगृहको काम सुरु हुन लागेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए।

    विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । मञ्चकै सक्रियतामा काम पुनः सुरु हुन लागेको उनले बताए । उनका अनुसार अगामी मङ्सिरदेखि काम सुरु गर्ने तयारी छ । उनले भने “लामो समयदेखि काम नहुँदा अब समितिकै सक्रियतामा भानुगृह बनाउने छलफल भइरहेको थियो । मञ्चका पदाधिकारीले हामीले नै बनाउँछौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ ।”

    भानुगृह निर्माणका लागि मञ्चका तर्फबाट आर्थिक सङ्कलनसमेत भएको छ । उनले भने, “सात वर्ष अगाडि भानुगृहको लागत रु ६८ लाख अनुमान गरिएको थियो । अहिलेको अवस्थामा रु एक करोड जति पुग्ला । मञ्चका तर्फबाट आर्थिक सङ्कलन भइसकेको छ भनेपछि विकास समिति पछाडि हटेको छ ।” यस वर्ष जसरी पनि भानुगृह निर्माणको काम सुरु गर्ने तयारीमा समिति थियो । तर अब मञ्चकै सक्रियतामा काम सुरु हुने र मञ्चका तर्फबाट समितिलाई परिपत्र भइसकेको निर्देशक रानाभाटको भनाइ छ ।

    समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले संरक्षणविहीन अवस्थामा पुगेको छ । उनले भने, “भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौँ, पानी र बत्तीको सुविधा पुगिसकेको छ ।” यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन ।

    भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । निर्देशक रानाभाटले भने, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौँ ।”

    भानु–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्।