दमाैली । वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि दमौली शास्त्र र शक्तिको प्रमुख केन्द्रविन्दु रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा आजदेखि सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै नेपाल ऋषिप्राज्ञ तथा वरिष्ठ संस्कृतिविद् गुरुङले व्यास ऋषिको जन्मभूमि, पराशर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको उल्लेख गरे ।
कात्तिक १ गतेदेखि जारी आठौ विश्वओमकार तथा हिन्दू महामिलन पर्व अन्तर्गत विश्व हिन्दु महासङ्घघ नेपाल स्याङ्जा शाखाको आयोजनामा सुरु महायज्ञमा गुरुङले नेपाली भूमि विश्वकै तपोभूमि रहेको भन्दै व्यासको जन्मस्थल शास्त्र र शक्तिको प्रमुख केन्द्रविन्दु भएको दावी गरे।
गुरुङले भगवान विष्णुको चौबिसौ अवतार मध्येको एक अवतार भगवान वेद व्यासको ऋषिको जन्मस्थलमा बग्ने हिमनदीको पानी र कन्दमुल खाएर तपस्या गर्दा अलौकिक ज्ञान र शक्ति हासिल गर्न सकिने भएकाले सत्य, त्रेता, द्वापर र कली चारै युगमा भारतीय ऋषिमुनि यहाँ आउने गरेको बताए।
नेपाल सिद्धहरुले तपस्या गरेको सत्यको भूमि नेपाल रहेको भन्दै गुरुङले तनहुँको व्यास गुफा र पराशर खोटाङको हलेसी, गोरखाको गोरखनाथ ऋषिमुनिको तपस्यास्थल रहेको बताए। गुरुङले व्यासको जन्मस्थलमा व्यासको कृति भागवत वाचन गर्नु अत्यन्त पवित्र कार्य रहेको भन्दै वेदमा धार्मिक भेद नभएकोले धार्मिक आचार संहिता पालना गर्नेले भागवत् भन्न सक्ने बताए ।
हिन्दु ग्रन्थ बहुत शक्तिशाली रहेको भन्दै समस्या समाधानका लागि दुर्गा सप्तसती चण्डी पाठ एक महत्वपूर्ण ग्रन्थ रहेको उनकाे भनाइ थियो । उहाँले व्यास गुफामा एउटा सिंहासन बनाएर चार वेद अठार पुराणको बोीि राख्ने र त्यसको सम्पूर्ण खर्च आफूले दिने उल्लेख गरे ।
प्रमुख बाचक पण्डित नेत्र प्रसाद पण्डितको बाचकत्वमा सातदिन भागवत् कथा वाचन हुनेछ । विश्व हिन्दु महासङ्घ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासङ्घका उपाध्यक्ष शङ्कर खराल, शान्ति स्वरुपानन्द दामोदर बाबा, व्यासका अध्यता काशीनाथ न्यौपाने, पूर्व सांसद शङ्करप्रसाद पाण्डे लगायतले व्यासभूमिको महत्वका बारेमा चर्चा गरे।