दमौली अस्पताल स्तरोन्नति गर्ने घोषणा गरेका मुख्यमन्त्रीलाई फेरि ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताल स्तरोन्नति गर्ने घोषणा गरेका मुख्यमन्त्रीलाई फेरि ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०८०, शुक्रबार

    दमौलीतनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पुनः ध्यानाकर्षण गराइएको छ । यसअघि पनि पटक–पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकामा आज मुख्यमन्त्री कार्यालयमै पुगेर अस्पतालको स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराइएको हो ।   

    मुख्यमन्त्री पाण्डेले पटक-पटक दमौली आएर अस्पताल स्तरोन्नति गर्ने घोषणा गरेका थिए। पछिल्लो पटक जिल्ला सभागृह उदघाटनका क्रममा पाण्डेले अस्पताल स्तरोन्नति प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका थिए।
     
    जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा र अस्पताल प्रमुख डा परिवर्तन बरालको टोलीले मुख्यमन्त्री पाण्डेसँग अस्पतालको स्तरोन्नतिका विषयमा छलफल गरेको छ । छलफलमा प्रदेशका सामाजिक विकास स्वास्थ्यमन्त्री सुशीला सिङ्खडा, प्रमुख सचिव लक्ष्मीकुमार बस्नेत, मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मासमेत सहभागी थिए ।   
      
    पन्ध्र शय्याको अस्पताल स्तरोन्नति अतिआवश्यक भएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए । उनका अनुसार विसं २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ ।   
      
    तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटक–पटक प्रयास भए पनि त्यसले मूर्तरुप लिन नसकेको थापाको भनाइ छ । बढ्दो चापसँगै अस्पताललाई पचास शय्यामा विस्तार गर्नुपर्ने अवस्था रहेको थापाले बताए ।