दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनीटारबाट ब्राउन सुगर सहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पर्सागढी–९ बस्ने १९ वर्षीय राहुल पासवान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई २९ ग्राम सात सय १० मिलीग्राम ब्राउन सुगर (खैरो हिरोइन) सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनले भने, “निजले लगाएको पाइन्टको दाहिने गोजीभित्र पोलिथिनमा लुकाइ छिपाइ राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ ।”
इलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थायी प्रहरी पोष्ट पुलजीपबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउ परेका विरुद्ध अनुसन्धान भइरहेको खाँणले बताए।