दमौली ।सरकारले सोमबारबाट टिकटक बन्द गर्ने निर्णय गरेसँगै समर्थन र विरोधका स्वर आएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । दुरसञ्चार प्राधिकरणले त्यसको प्रकृया समेत सुरु गरेको छ।
टिकटक बन्द नभई नियमन गर्न माग गरिएको छ। आदिकवि भानुभक्त क्याम्पसका स्ववियु सभापति गौरव पन्थले बन्द विकल्प नभएको बताए । उनले यसको नियमन गर्नुपर्ने बताए ।
उनले भने, ‘आज सरकार फेरि विश्वको सबै भन्दा चर्चित सामाजिक संजाल प्लेटर्फम टिकटिक बन्द गर्न खोज्दैछ। यस्तो सल्लाह सुझाब कसले दिन्छ होला। यस्ता बारेमा अध्ययनहरु हाम्रा सांसद र सरकारले गर्छ कि गर्दैन? टिकटकको विकल्पमा कति छन् त्यस्ता प्लेटर्फम अनी कतिलाई बन्देज गर्दै जान्छ? के के बन्देज गर्दै जाने हो?’
उनले टिकटकमा विकृति मात्र होइन धेरै राम्रा विषय पनि भएको बातए । उनले भने, ‘राम्रा राम्रा कुराहरू पनि सिक्ने अवसर प्रदान गरेको छ। धेरैले यसैको माध्यमबाट व्यापार व्यवसायको प्रोमोसन पनि गरेका छन्। राम्रा नराम्रा पक्ष सबै कुराको हुन्छ।’
नेविसंघ नेतृ एलिजा ढकालले टिकटक कला प्रदर्शन गर्ने राम्रो माध्यम बनेको बताइन् । उनले भनिन्, ‘हुन त म टिकटकमा थिइन/छैन तर कन्टेन्ट कृयटरहरुको लागि आफ्नो कला प्रदर्शन गर्ने राम्रो माध्यम हो टिकटक।दुरुपयोग गर्नेहरु त सबै खाले डिजिटल प्ल्याट्फर्ममा छन् नि। प्रतिबन्ध नै किन गर्नुपर्ने?हुन त प्रतिबन्धको निर्णय गर्नेलाई अराजकता नियन्त्रण गर्न भन्दा सजिलो यहि होला ।’
दुलेगौडाका विपिन वाग्लेले पनि सरकारको निर्णयको विरोध गरेका छन् । उनले सामाजिक संजाल नियमन गर्ने कानुन ल्याउन आग्रह गर्दै बन्द गरेर अधिनायकवाद लाद्न नखोज्न सुझाव दिए ।
उनले भने, ‘वर्तमान समय विज्ञान र प्रविधिलाई नवप्रवर्दन नविनता गर्ने समय हो जसले प्रविधिको प्रयोग र विज्ञानलाई परीक्षण गर्छ नयाँकुराको सुरुवात हुन्छ ।राणाहरुले चित्रकार कालिगडलाई हात काटिदिएको कारण त्यसको क्षतिपूर्ति अहिलेसम्म पुस्तौ पुस्ताले भोग्नुपर्यो ।साना व्यवसायी र केही व्यक्तिहरुको लागि टिकटक बरदान हो । टिकटकले उनिहरुको व्यवसाय फस्टाएको र जीवन नै परिवर्तन गरेको धेरै उदाहरणहरु छन् ।’