दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहँु क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले घुमाउनेको पुल र बुद्धसिंह मार्गले दक्षिणी भेगको कायापलट गर्ने बताएका छन् । लामो समय अलपत्र भएर हालैमात्रै पुनः सुरु भएको तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशुली नदीको घुमाउने पुलको शुक्रबार निरीक्षण गर्दै उहाँले दसैंसम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी काम अगाडी बढेको जानकारी दिए।
दूरी घटाउने र लागत बढाउने नारा सहित आफू चुनावी मैदानमा होमिँदापनि घुमाउनेको अलपत्र पुललाई प्राथमिकतामा राखेको बताउँदै त्यसका लागि निरन्तर पहल गरेको दावी गरे । उनले भने, “दश वर्ष पहिला ठेक्का लागेको, पाँच वर्ष अगाडी निर्माण सुरु भएको र विगत एक वर्षदेखि ठप्प रहेको पुलको काम अब सुरु भएको छ । बीचमा डिजाइन परिवर्तन हुँदा पनि केही समय ढिला भयो, अब सबै समस्याको निराकरण भएको छ ।”
वर्षा अगावै फाउण्डेशनको काम सकेर दसैंसम्ममा सवारी साधन सञ्चालन गर्न मिल्ने गरी कामलाई गति दिन वाग्लेले आग्रह गरे। घुमाउनेको पुल र बुद्धसिंह मार्ग बनेपछि यस भेगका कृषकले सहज रुपमा कृषिजन्य सामग्री बजारसम्म पु¥याउन सक्ने उनकाे भनाइ थियो ।
विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन सकेको छैन ।
एक सय पाँच मिटर लम्बाई रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवेल पुल सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।