काठमाडौ । पोखराबाट काठमाडौं उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ ।
अहिले बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो ।
इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको स्रोतले जानकारी दियो ।
‘खुट्टाले लागेर ढोका खुलेको’ भन्ने जवाफ आएको छ । उडान नम्बर यूफोर६५२ कलसाइत रहेको उक्त जहाज पोखराबाट काठमाडौं उड्ने तयारीमा थियो ।
ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने भएको छ ।
“काठमाडौंबाट इञ्जिनियर आएर चेकजाँच गरेपछिमात्रै उडाउने तयारी छ,” पोखरा विमानस्थल स्रोतले भन्यो ।
बुध्द एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार उडान नं ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् ।
“हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन्,” उनको भनाई छ, “यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ ।”