दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घ नेपाल गण्डकी प्रदेश समिति, नेपाल प्रगतिशिल चिकित्सक महासङ्घ गण्डकी प्रदेश समिति, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घ आँबुखैरेनीको प्राविधिक सहयोगमा शनिबार आँबुखैरेनी अस्पतालमा सञ्चालन गरिएको शिविरमा एक हजार १४ जना लाभान्वित भएका हुन् ।
शिविरम एक सय ४५ जनालाई युएसजी, ६७ जनालाई इसिजि, ५५ जनालाई आँखा, ९७ जनालाई प्रयोगशाला, एक सय दुई जनालाई निःशुल्क एक्सरे सेवा समेत प्रदान गरिएको छ ।
शिविरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला गोरखा, चितवनका सर्वसाधारणले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमोद साहले जानकारी दिए। आँबुखैरेनी तथा आसपासका जनतालाई लक्षित गरी वृहत स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
शिविरमा पेट तथा छातीरोग विशेषज्ञ प्रा.डा. बुद्धिबहादुर थापा, महिला तथा स्त्रीरोग विशेषज्ञ डा. कालिका भण्डारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सरोजचन्द्र दाहाल, दन्तरोग विशेषज्ञ डा. पुरन विश्वकर्मा, नाक कान तथा घाँटीरोग विशेषज्ञ डा. विक्रमबाबु कार्की, जनरल फिजिसियन डा. डिबी क्षेत्री, डा. रामहरि दाहाल, डा. सन्तोष बानियाँले सेवा प्रदान गरेका थिए ।
शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले हरेक जनताले स्वास्थ्य सर्वसुलभ रुपमा पाउनुपर्नेमा जोड दिए ।