म्याग्देका विश्वबहादुर : जसले यस वर्ष बेचे ७५ लाखकाे सुन्तला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    म्याग्देका विश्वबहादुर : जसले यस वर्ष बेचे ७५ लाखकाे सुन्तला

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०८०, आईतवार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा विक्री गरेका छन् । अधिकारीले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा विक्री गरेका हुन् ।

    व्यापारी तुलबहादुरले उक्त बगान रु ७५ लाखमा ठेक्कामा लिएका हुन् । यस ठाउँमा उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् । कृषक अधिकारीले भने “ठेक्कामा विक्री गर्दा सजिलो हुने भएकाले एकैचोटि ठेक्कामै दिन्छु । यो वर्ष रु ७५ लाखमा ठेक्कामा विक्री गरेको हूँ ।”

    जिल्ला विकास समिति तनहुँका पूर्व सभापति रहेका अधिकारी सुन्तला खेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिनलाई सदुपयोग गरी विसं २०५२ सालबाट व्यावसायिक सुन्तला खेती सुरु गरेका अधिकारीले वार्षिक रु ६०÷७० लाखसम्मको सुन्तला विक्री गर्दै आएका छन् ।

    उक्त सुन्तला बगानमा एक हजार तीन सय भन्दा बढी सुन्तलाका बोट छन् । उनले भने, “गत वर्ष राम्रो भएन उत्पादन । कहिलेकाँही समस्या आउँछ । म आफै पनि बिरामी भए, व्यवस्थापन कमजोर भयो ।”

    सबैभन्दा धेरै यही वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ छ । उनले भने, “अन्य वर्ष रु ६०÷७० लाखको उत्पादन भएको छ । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।”

    सुन्तला खेतीका लागि वार्षिक रु १५ लाख खर्च हुने गरेको अधिकारीको भनाइ छ । उनले भने “यो वर्ष खर्च पहिलाभन्दा थोरै बढ्छ । यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ ।” फलेका सुन्तला सबै टिपिसकेपछि सुन्तला बोटको गोडमेल गरिने अधिकारीले बताउनुभयो । उनले भने, “सबै सुन्तला टिपिसकेपछि सुन्तलाको बोटमा गोडमेल गर्ने, मल हाल्ने, पिना हाल्ने काम हुन्छ ।”

    अधिकारीले भने, “उमाचोक सुन्तला उत्पादनका लागि सम्भावना भएको ठाउँ थियो । सम्भावना देखेरै नै यो खेतीमा लागेको हूँ । आम्दानी राम्रो भइरहेको छ । यस पेशाबाट सन्तुष्ट नहुने कुरै छैन ।”

    सुन्तला विक्रीबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको अधिकारीले सुनाए । सुन्तला बगैंचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उनकाे भनाइ छ ।

    सुन्तला बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको अधिकारी बताउँछन् । उनले भने, “सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउनुहुन्छ । बजारको कुनै समस्या छैन । विक्री हुँदैन की भन्ने चिन्ता छैन ।”

    सुन्तला खरिद गर्ने ठेकेदार तुलबहादुर थापाले यहाँ उत्पादित सुन्तला काठमाडौ लगेर विक्री गर्ने गरेको बताए। उनले भने “म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।”

    जिल्लामा गत वर्ष रु २९ करोडको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान छ ।

    जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैंचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

    तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैंचासम्म पुग्ने गरेका छन् । काठमाडौका अलवा पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला विक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला विक्री हुने गरेको किसानहरु बताउँछन् ।

    ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०÷८१ मा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले कृषकलाई बगैंचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ ।