


दमाैली । नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको पुस्तक ‘फर्केर हेर्दा’ को विमोचन गरेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा साेमबार आयोजित एक कार्यक्रममा उपमहासचिव गुरुङले भण्डारीले लेख्नुभएको संस्मरण कृतिको विमोचन गरेका हुन् ।
त्यसक्रममा उपमहासचिव गुरुङले नेपालको राजनीतिक आन्दोलन तथा पत्रकारिता क्षेत्रमा भण्डारीले पु¥याउनुभएको योगदान अतुलनीय रहेको चर्चा गरे ।
भिमाद नगरपालिका–६ निवासी प्रेस स्वतन्त्रता सेनानी भण्डारीले आफूले जीवनमा भोगेका कुराहरुलाई पुस्तकमा उतारेका छन् । राजनीतिक, पत्रकारिता र जीवनमा गरेका तथा भोगेका कामहरुका बारेमा पुस्तक मार्फत् सार्वजनिक गरेको भण्डारीले बताए।
स्याङ्जाको हरिनास गाउँपालिका–२ (साविक तिरतिरे मग्याम चिसापानी) मा विसं २००५ माघ २६ गते जन्मिएका भण्डारीले यसअगाडी सम्पादकीय सङ्ग्रह भाग १ र भाग २ प्रकाशित गरिसकेका छन्। भञ्ज्याङ दैनिकको सम्पादक रहिसकेका उनी लामो समय पत्रकारितामा क्रियाशील थिए ।