दमौली । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै जातजाति र धर्मको सम्मान गर्नुपर्ने बताएका छन् । तमु ल्होसारको अवसरमा तमु ह्युल छोज धिं तनहुँले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल बहुभाषिक, बहुजातीय मुलुक भएकाले सबैको उत्तिकै सम्मान हुनुपर्ने बताए ।
एउटा धर्म र एउटा जातिले अर्को धर्म र जातिलाई सम्मान र आदर गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उनले भने, “हामीले एउटा धर्म मान्दै गर्दा अर्को धर्मको अपमान गर्नुहुँदैन । अरु जातिलाई होच्याउन हुँदैन ।” मन्त्री गुरुङले विविधता नेपालको गहना र सम्पत्ति भएको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले हरेक जातिले आफ्नो भाषाको परिस्कृत गर्नुपर्नेमा जोड दिए । उनले भने, “नेपालको हरेक आन्दोलनमा गुरुङलगायत सबै जातजातिको महत्त्वपूर्ण भूमिका छ । सबै जातजातिबीच एकता हुनुपर्छ ।”
मन्त्री गुरुङले मिहिनेत नगर्ने तर नेपालको उच्च पदमा गुरुङको प्रतिनिधित्व भएन भनेर मात्रै गुनासो नगर्न आग्रह गरे । उनले भने, “मिहिनेत गरेमा गुरुङ पनि नेपालको राजनीति र कर्मचारीतन्त्रको उच्च ठाउँमा पुग्न सक्छन् ।”
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य सरिता गुरुङले सबै जातजातिले समान हक अधिकार पाउने संविधानमा उल्लेख भएपनि कार्यान्वयन नभएको गुनासो गरे । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संस्कृति बचाउने अभियानमा गुरुङको सहयोग रहँदै आएको बताए ।
नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष सुजित हिराचनले गुरुङ समुदायले देशका लागि पु¥याएको योगदान उदाहरणीय रहेको बताए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गुरुङ जाति कला र संस्कृतिमा धनी रहेको चर्चा गरे ।
–––