देश विकासका लागि कम्युनिष्ट मिल्नुपर्छ : उपमहासचिव गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देश विकासका लागि कम्युनिष्ट मिल्नुपर्छ : उपमहासचिव गुरुङ

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०८०, आईतवार

    दमाैली । नेकपा (एमाले) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन्। नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटी तनहुँले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको उल्लेख गरे ।

    समाजवाद निर्माण, सार्वभौममुलुक निर्माण र जनताको सुख र समृद्धिका लागि कम्युनिष्टहरु मिल्नुको विकल्प नरहेको उपमहासचिव गुरुङको भनाइ थियो । उनले भने “मलाई कतिपयले भन्छन् कति एकताको कुरा गरेको, आफ्नै पार्टीको कुरा गर्नु न भन्छन् । तर एक्लैको बहुमत नआउने र मुलुक विकासका लागि पनि कम्युनिष्ट मिल्नुपर्छ ।”

    नेताहरुको झगडाले पार्टी फुटेको भन्दै उनले आफू अझै पनि एकताको पक्षधर भएको बताए ।

    रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य जनताले चाहेको भन्दै गुरुङले त्यसतर्फ पार्टीहरुको ध्यान जानुपर्ने बताए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुङले सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा एमाले दृढ रहेको उल्लेख गरे ।

    युवाहरुलाई वैदेशिक रोजगारमा जान नपर्ने बनाउन स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा गुरुङको जोड थियो ।

    सो अवसरमा नेकपा (एकीकृत समाजवादी) तनहुँका सचिवालय सदस्य सहित ८७ जना एमालेमा समाहित हुनुभएको छ ।